global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ग्रीनल्यान्ड अमेरिकामा गाभ्ने विकल्पबारे छलफल भएको ह्वाइट हाउसबाट पुष्टि

ग्रीनल्यान्ड अमेरिकामा गाभ्ने विकल्पबारे छलफल भएको ह्वाइट हाउसबाट पुष्टि

ग्रीनल्यान्ड अमेरिकामा गाभ्ने विकल्पबारे छलफल भएको ह्वाइट हाउसबाट पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड अमेरिकामा गाभ्ने विकल्पहरूबारेमा छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ग्रीनल्यान्ड अधिग्रहणलाई अमेरिकी राष्ट्रिय सुरक्षाको प्राथमिकता भएको बताउँदै राष्ट्रपति र उनको टोलीले यसका लागि सबै विकल्पबारे छलफल गरिरहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ । उनले आवश्यक परे अमेरिकी सेनाको प्रयोग राष्ट्रपतिको अधिकारभित्र पर्ने पनि उल्लेख गरेका छन ।

रुस र चीनजस्ता विरोधी शक्तिहरूले आर्कटिकमा प्रभाव बढाउन सक्ने भएकाले अमेरिकी योजना रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको ह्वाइट हाउसकी प्रेस सचिव लेभिटको भनाइ छ ।

अहिले ग्रीनल्यान्ड नेटो सदस्यसमेत रहेको डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र हो । डेनमार्कले यस टापुमाथि अमेरिकाले गर्ने हस्तक्षेप आफूलाई मान्य नहुने बताउँदै आएको छ ।

युरोपेली नेताहरूले संयुक्त विज्ञप्ति निकालेर डेनमार्कको समर्थन गरेका छन् । ग्रीनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले टापुको भविष्यबारे त्यहाँका बासिन्दाले मात्र निर्णय गर्न सक्ने बताए।

ग्रीनल्यान्डको जनसङ्ख्या झन्डै ५७ हजार छ । भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपपछि ग्रीनल्यान्डको भविष्यको मुद्दा फेरि सतहमा आएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले चुनावको प्रचारका क्रममै ग्रीनल्यान्ड किनेर अमेरिकामा गाभ्ने बताएका थिए ।

८० प्रतिशत आर्कटिक महासागर र झन्डै २० प्रतिशत उत्तरी एटलान्टिक महासागरले घेरिएको ग्रीनल्यान्ड विश्वको सबैभन्दा ठूलो टापु हो । त्यहाँ प्रकृति, आत्मा र देवतासँग सम्बन्धित धेरै किंवदन्ती प्रसिद्ध छन् । पुरातात्त्विक र ऐतिहासिक प्रमाणले कम्तीमा ४ हजार ५ सय वर्ष पहिलेदेखि यहाँ मानव बसोबास रहेको सङ्केत गर्छ ।

आर्कटिक समुद्री क्षेत्रमा रुस, क्यानडा, डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे, स्वीडेन र अमेरिका गरि ८ वटा देश छन् । रुसबाहेक अन्य सबै देश उत्तर एटलान्टिक सन्धि (नेटो) का सदस्य हुन् । नेटोमा कुनै एक देशमाथि बाहिरी देशले आक्रमण गरेमा सबैले मिलेर प्रतिवाद गर्छन् ।

प्रकाशित समय : १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु