global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ

सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसलाई बताएको छ । उनले ट्रम्पलाई सन् २०२० को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने आपराधिक षड्यन्त्रमा ‘सबैभन्दा दोषी र सबैभन्दा जिम्मेवार व्यक्ति’ का रूपमा चित्रण गरे ।

रिपब्लिकन नेतृत्वको हाउस जुडिसियरी कमिटीले बुधबार स्मिथले दिएको बन्द–ढोका अन्तर्वार्ताको प्रतिलिपि र भिडियो सार्वजनिक गरेको हो । सो अन्तर्वार्तामा स्मिथले ट्रम्पमाथि लगाइएका अभियोगहरूको आधार दृढतापूर्वक बचाउ गर्दै अनुसन्धान राजनीतिक प्रेरणाबाट गरिएको भन्ने आरोप अस्वीकार गरे ।

“यहाँ रहेका प्रमाणहरूले राष्ट्रपति ट्रम्प नै यस षड्यन्त्रका मुख्य व्यक्ति भएको स्पष्ट देखाउँछन् । यी सबै काम उनको फाइदाका लागि गरिएको थियो । क्यापिटलमा भएको आक्रमण पनि उनले बिना सम्भव थिएन”, स्मिथले भने । उनले आफ्नो कार्यालयको काम कुनै पनि हालतमा राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले नभएको पनि स्पष्ट पारे ।

डिसेम्बर १७ मा निजी रूपमा गरिएको उक्त बयान सार्वजनिक गवाहीका रूपमा दिन अनुरोध गरिए पनि बन्द ढोकामै सम्पन्न भएको थियो । विशेष सल्लाहकार पदबाट हटेपछि क्यापिटल हिलमा स्मिथको यो एकमात्र उपस्थिति हो । यसले न्याय मन्त्रालयका पछिल्ला दुई ठूला अनुसन्धानबारे सार्वजनिक बुझाइ थप स्पष्ट बनाएको छ ।

ट्रम्पमाथि २०२० को चुनाव उल्ट्याउने षड्यन्त्र र फ्लोरिडास्थित मार–ए–लागो निवासमा गोप्य कागजात अवैध रूपमा राखेको अभियोग लगाइएको थियो । तर २०२४ को चुनावमा ट्रम्प पुनः निर्वाचित भएपछि न्याय मन्त्रालयको नीतिका आधारमा दुवै मुद्दा खारेज गरिएको थियो ।

स्मिथले ट्रम्पविरुद्ध सङ्कलन गरिएका प्रमाणहरू सजाय दिलाउन पर्याप्त बलिया रहेको आफ्नो विश्वास दोहोर्‍याए । उनका अनुसार जनवरी ६ सम्बन्धी मुद्दा ट्रम्पकै सहयोगी र समर्थक रिपब्लिकनहरूको गवाहीमा आधारित थियो, जसले पार्टीभन्दा माथि देशलाई प्राथमिकता दिएका थिए ।

क्यापिटल दङ्गाबारे बोल्दै स्मिथले भने, “प्रमाणहरूले देखाउँछन् कि राष्ट्रपति ट्रम्पले यस अवस्थाको कारण बनाए, त्यसको पूर्वानुमान गर्न सक्नहुन्थ्यो र पछि त्यसको शोषण पनि गरे ।” उनका अनुसार ट्रम्पले चुनाव चोरी भएको झूट फैलाउँदै समर्थकहरूलाई उत्तेजित पारे, उनीहरूलाई क्यापिटलतर्फ मोडे र हिंसा सुरु भएपछि रोक्न सक्रिय कदम चाल्न अस्वीकार गरे ।

स्मिथले दङ्गाका क्रममा ट्रम्प र रिपब्लिकन सांसदहरूबीचको सम्पर्क पनि मुद्दाको महत्त्वपूर्ण हिस्सा भएको बताए । फोन रेकर्ड सङ्कलन तथा विश्लेषण वैधानिक र कानूनअनुसार गरिएको भन्दै त्यसप्रति उठेको आक्रोश ट्रम्पतर्फ नै निर्देशित हुनुपर्ने उनको भनाइ थियो ।

स्मिथको बयानले जनवरी ६ को क्यापिटल दङ्गामा ट्रम्पको भूमिकालाई केन्द्रमा राख्दै त्यस घटनाको जिम्मेवारीबाट उनले  अलग हुन नसक्ने सन्देश स्पष्ट रूपमा दिएको छ ।

प्रकाशित समय : १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु