global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल र भारतबीच संयुक्त कृषि कार्य समूहको बैठक सम्पन्न

नेपाल र भारतबीच संयुक्त कृषि कार्य समूहको बैठक सम्पन्न

नेपाल र भारतबीच संयुक्त कृषि कार्य समूहको बैठक सम्पन्न
नेपाल र भारतबीच कृषि क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्ने उद्देश्यसहित संयुक्त कृषि कार्य समूहको नवौँ बैठक सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा आयोजित दुईदिने बैठक आज काठमाडौँमा सम्पन्न भएको हो ।  नेपालका तर्फबाट मन्त्रालयका सहसचिव डा हरिबहादुर केसी र भारत सरकार, कृषि तथा किसान कल्याण मन्त्रालयका ‘अपर सचिव’ डा प्रमोदकुमार मेहेरले बैठकको सहअध्यक्षता गरेका थिए ।
सन् २०२५ अप्रिल ९ मा दुई देशबीच हस्ताक्षर भएको ‘कृषि सहयोगसम्बन्धी नयाँ समझदारीपत्र’ अन्तर्गत बसेको यो पहिलो बैठक हो । बैठकमा दुवै देशका प्रतिनिधिले आआफ्नो देशको कृषि नीति, प्राथमिकता र हालका चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।
सन् २०२४/२५ मा नेपाल र भारतबीचको द्विपक्षीय कृषि व्यापार  एक दशमलव छ अर्ब अमेरिकी डलर नाघेको तथ्य प्रस्तुत गर्दै दुवै पक्षले व्यापार सम्बन्धलाई थप सन्तुलित र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका सहसचिव एवं कृषि मन्त्रालयका प्रवक्ता डा जानुका पण्डितले जानकारी दिइन ।
भारतीय पक्षले ‘छिमेकी पहिला’ नीतिअनुरूप नेपालसँग कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र पूर्वाधार  विकासमा सहयोग गर्न इच्छा प्रकट गरेको थियो  । व्यापार सहजीकरणको सन्दर्भमा नेपालले आफ्ना आठ प्रकारका कृषिजन्य उत्पादनको प्रयोगशाला परीक्षण भारतले मान्यता दिएकामा धन्यवाद ज्ञापन गर्दै सूची विस्तार र भारतीय बजारमा व्यवस्थित पहुँच सुनिश्चित गर्न अनुरोध गरेको जनाइएको छ ।
बैठकमा डिजिटल कृषि, जलवायु अनुकूल खेती, प्राकृतिक खेती प्रणाली, खाद्यान्न सुरक्षालगायत आधुनिक प्राविधिक क्षेत्रमा सहकार्य गर्ने विषयमा गहन छलफल भएको प्रवक्ता डा पण्डितले जानकारी दिए।
उनका अनुसार दुवै देशले आगामी तीन महिनाभित्र द्विवार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने निर्णय गरेका छन् । साथै, रासायनिक मल आपूर्ति, कृषि पूर्वाधार विकास, खाद्य गुणस्तर र क्वारेन्टाइनसम्बन्धी प्राविधिक समस्याहरू समाधानका लागि सहकार्य गर्ने सहमति भएको छ । आगामी बैठक भारतमा आयोजना गर्नेसमेत निर्णय भएको छ ।

प्रकाशित समय : २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु