global ime bank Long Banner Ad

गृहपृष्ठ यमनको पूर्वी क्षेत्रमा अस्थिरता बढ्दै, संयुक्त राष्ट्रसंघद्वारा शान्तिपूर्ण समाधानमा जोड

यमनको पूर्वी क्षेत्रमा अस्थिरता बढ्दै, संयुक्त राष्ट्रसंघद्वारा शान्तिपूर्ण समाधानमा जोड

यमनको पूर्वी क्षेत्रमा अस्थिरता बढ्दै, संयुक्त राष्ट्रसंघद्वारा शान्तिपूर्ण समाधानमा जोड

यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले शनिबार यमनका पूर्वी प्रान्तहरू हद्रामौत र अल–मह्राहमा बढ्दो तनावप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र थप तनाव नबढाउन आग्रह गरेका छन ।

सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिवको ‘संयम, तनाव न्यूनीकरण र संवाद’ सम्बन्धी आह्वान दोहो¥याउँदै परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि गतिविधि नगर्न सबैलाई अनुरोध गरे ।

ग्रुन्डबर्गले क्षेत्रीय स्तरमा भइरहेका मध्यस्थता प्रयासहरूको महत्त्वमा जोड दिँदै यमनका पक्षहरू तथा क्षेत्रीय सरोकारवालासँग निरन्तर सम्पर्कमा रहेको र देशमा ‘समग्र तथा समावेशी राजनीतिक समाधान’ तर्फ अघि बढ्न सहयोग गरिरहेको बताए ।

उनका यी अभिव्यक्तिहरू साउदी अरबले शुक्रबार दक्षिणी सङ्क्रमणकालीन परिषद्सँग सम्बन्धित स्थानहरूमा हवाई आक्रमण गरेपछि आएका हुन् । ती आक्रमणहरू हद्रामौत प्रान्तको प्रमुख तेल क्षेत्र नजिक रहेको घैल बिन यामिन क्षेत्रमा भएका बताइन्छ । ती घटनामा मानवीय क्षति वा सैन्य उपकरणमा क्षति पुगेको विवरण प्राप्त भएको छैन ।

यसअघि डिसेम्बर ३ मा दक्षिणी सङ्क्रमणकालीन परिषद्का बलहरूले सरकार समर्थक समूहसँगको झडपपछि हद्रामौतमा नियन्त्रण कायम गरेका थिए । त्यसपछि उनीहरूले कुनै ठूलो प्रतिरोधबिना अल–मह्राह प्रान्तसम्म आफ्नो उपस्थिति विस्तार गरेका छन् । यमन सरकार र साउदी अरबले पटक–पटक तनाव कम गर्न आग्रह गरे तापनि परिषद्ले दुवै प्रान्तमा स्थानीय बलहरू भर्ती गर्न जारी राखेको जनाइएको छ ।

यसै दिन साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले नागरिक सुरक्षाका लागि तनाव न्यूनीकरण प्रयासलाई कमजोर बनाउने कुनै पनि सैन्य गतिविधिलाई सम्बोधन गरिने बताएका थिए ।

यमनको राष्ट्रपति नेतृत्व परिषद्का अध्यक्ष रशाद अल–अलिमीले पनि शनिबार ती कदमहरूको स्वागत गर्दै दक्षिणी सङ्क्रमणकालीन परिषद्का गतिविधिलाई अस्थिरता सिर्जना गर्ने कार्यको रूपमा वर्णन गरे ।

सन् २०१७ मा गठन भएको दक्षिणी सङ्क्रमणकालीन परिषद्ले दक्षिण यमनको आत्मनिर्णय र अन्ततः स्वतन्त्रताको माग गर्दै आएको छ । सन् २०२२ मा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमन सरकारमा समावेश भए पनि परिषद्ले दक्षिणी पृथकतावादी एजेन्डालाई निरन्तर अघि बढाइरहेको छ ।

प्रकाशित समय : १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु