global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कालीगण्डकीमा पक्की पुल

कालीगण्डकीमा पक्की पुल

कालीगण्डकीमा पक्की पुल

चार वर्षदेखि कालीगण्डकी करिडोरमा लगातार पहिरो खस्दै आएपछि बागलुङको दक्षिण भेगलाई जोड्न पक्की पुल निर्माण थालिएको छ । पहिरोका कारण बर्खामा सडक अवरुद्ध भएपछि पहिरोको विकल्पमा कालीगण्डकीमाथि पक्की पुल निर्माण थालिएको छ ।

बागलुङ नगरपालिका–१० गलुवास्थित दब्ल्याङको पहिरोले चार वर्ष यता र सोही नगरपालिका–१३ को कालाखोला बगरमा गत वर्षदेखियता सडकको ट्रयाक बगाएपछि बर्खामा सवारीसाधन ठप्प हुँदै आएका छन् । विसं २०७८ देखि खस्न थालेको गलुवाको पहिरो रोक्न नसकेपछि विकल्पमा कालीगण्डकी करिडोरलाई नदीमाथि पुल निर्माण गरी लोकमार्गमा जोड्न थालिएको हो । पर्वतको नयाँपुल र बागलुङको कालाखोला जोड्ने गरी कालीगण्डकी नदीमा मोटरेवल पुल निर्माणको काम सुरु भएको छ ।

करिडोरको कालाखोला र मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको नयाँ पुल पुग्नेगरी कालीगण्डकी नदीमाथि मोटरेबल पुल बनाउने काम थालिएको हो । गण्डकी प्रदेशको पूर्वाधार विकास निर्देशनालयको ठेक्का सम्झौताअनुसार मोटरेवल पुल निर्माणको काम थालिएको हो । निर्देशनालयले गत असारमा मुक्तिनाथ अमित संयुक्त निर्माण कम्पनीसँग १७ करोड लागतमा पुल बनाउने गरी ठेक्का सम्झौता गरेको थियो ।

निर्माणको जिम्मेवारी पाएको ठेकेदार पक्षले अहिले पुल निर्माणस्थलमा माटो परीक्षण गरिरहेको छ । एक सय मिटर लामो र ११ मिटर चौडा भएको यो पुल तीन वर्षभित्र बनाइसक्नुपर्ने ठेक्का सम्झौता रहेको निर्देशनालयका सब–इन्जिनियर विजय सुवेदीले जानकारी दिए।

यो पुलले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलाई जोड्ने छ । गत वर्षातमा कालाखोलामा खसेको भीषण पहिरोले करिडोर अवरुद्ध भएको र एक्लेसालमा बर्सेनि खस्ने पहिरोले दक्षिण बागलुङ र करिडोर हुँदै गुल्मी, पाल्पा र बुटवल जाने यात्रीले सास्ती खेपेपछि निरन्तरको पहलमा पुल निर्माण थालिएको बागलुङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशसभा सदस्य तथा स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिए ।

सो पुल बनेमा दक्षिण बागलुङदेखि गुल्मी, पाल्पादेखि बुटवल आउजाउ गर्ने यात्रुले सहज यात्रा गर्न पाउने छन् भने लोकमार्ग र करिडोरको संयोग विन्दुको रुपमा पुललाई लिन सकिनेछ । हाल कालोपत्रको चरणमा रहको करिडोरको बलेवा विमानस्थलदेखि मालढुङ्गा खण्डमा उक्त पहिरोका कारण समेत समस्या भइरहेको छ । पहिरोमा कालोपत्रको पूर्वाधार निर्माण हुन नसकेको छ ।

अहिले ठेकेदार पक्षले कालीगण्डकी किनारको दुवैतर्फबाट २० मिटर तलको माटो निकालेर परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । प्रतिवेदन आएपछि उक्त स्थानमा पुलको काम थालिने सुवेदीले जानकारी दिए । पटक–पटकको प्रयासले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ बलेवा हुँदै कुश्मिसेरा जाने सडक बर्खामा बन्द हुँदा दक्षिणको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका जनतालाई सास्ती भएपछि पहिरोको विकल्पमा पुल बनाउन थालिएको हो ।

प्रकाशित समय : १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु