global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मन्त्री घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण

मन्त्री घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण

मन्त्री घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् ।

शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङमार्फत ७५९ शैयाको दुईवटा भवन निर्माणाधीन छन् ।

मन्त्री घिसिङले निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, अस्पताल प्रशासन र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।

जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालको भौतिक संरचना निर्माण प्रगति अपेक्षाकृत हुन नसकेकाले जनशक्ति थप गरी तीन सिफ्टमा काम गर्न र गुणस्तरमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई घिसिङले निर्देशन दिए ।

उनले निर्माण कार्यको नियमित अनुगमन गर्ने र काममा लापरबाही गरेको फेला परेमा जिम्मेबार सबैलाई कारबाही गर्नेसमेत चेतावनी दिए । अस्पताल प्रशासनकातर्फबाट भवन तयार नहुँदा स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भइरहेकाले निर्माणमा विशेष ध्यान दिन मन्त्रीसमक्ष अनुरोध गरिएको थियो ।

कोशी अस्पतालको ५०० शैयाको मेडिकल भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत रहेको छ । उक्त भवन निर्माणका लागि पुस २०७९मा २ अर्ब ४६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी भएको ठेक्का सम्झौताको म्याद आगामी १२ पुसमा सकिंदैछ । निर्माण व्यवसायीलाई ७४ करोड ९८ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरी, इसियु, सर्जिकल, न्यूरो सेवा उपलब्ध गराउन २५९ शैयाको भवन निर्माणका लागि असार २०७८मा रमण—भूमि—विआइपिएल जेभिसँग ठेक्का सम्झौता भएको थियो ।

भवन निर्माणको भौतिक प्रगति ५० प्रतिशत छ । म्याद थपसहित सम्झौताको म्याद गत कात्तिकमै सकिएको छ । निर्माण व्यवसायीले ठेक्का समझौताको म्याद थप गर्न निवेदन पेश गरेको छ ।

ठेक्का सम्झौता रकम ३८ करोड ८७ लाख रुपैयाँ रहेको छ । निर्माण व्यवसायीलाई १६ करोड ३१ लाख भुक्तानी भएको छ ।

प्रकाशित समय : १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु