गृहपृष्ठ गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुख आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुख आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुडामणि आपागाईं सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
विशेष अदालत काठमाडौँमा आज उनीहरूविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो । राहदानी बाहकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिभन्दा राहदानीमा उमेर घटाउने वा बढाउने उद्देश्यले बदनियत पूर्वक सरकारी कागजातमा अनधिकृत विवरण हेरफेर गरी राहदानी जारी गरेको आरोपमा उनीहरू विरुद्ध मुद्दा दर्ता गरिएको आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुँडामणि आपागाईं, तत्कालीन नायब सुब्बा रवीन कुमार राजबंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवन कुमार दाहाल माथि मुद्दा दर्ता गरिएको उल्लेख छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल र केशव प्रसाद रिजाल सहित राहदानी बाहकहरू विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्द प्रसाद ढुङ्गेल र बलराम महतो माथि समेत भ्रष्टाचारको आरोप लगाइएको छ ।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजायको माग गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा विनोद कुँवरको राहदानीमा जन्म मिति ५ वर्ष घटाइएको उल्लेख छ । उनको नागरिकतामा १९७६/१०/१३ जन्म मिति र राहदानीमा १९८१/१०/१३ उल्लेख छ ।
सिमान्त विश्वकर्माको जन्म मिति २ वर्ष बढाइएको देखाइएको छ । उनको नागरिकतामा २००४/०९/०३ र राहदानीमा जन्म मिति २००२/०९/०३ जनाइएको उल्लेख छ । गोविन्दप्रसाद ढुङ्गेलको जन्म मिति ५ वर्ष घटाएको उल्लेख छ । उनको नागरिकतामा १९८१/०७/२६ गते र राहदानीमा जन्म मिति १९८६/०७/२६ रहेको उल्लेख छ ।
त्यस्तै बलराम महतोको जन्म मिति ८ वर्ष घटाइएको उल्लेख छ । उनको नागरिकतामा जन्म मिति १९८२/१०/२४ र राहदानीमा १९९०/१०/२४ रहेको उल्लेख छ ।
प्रकाशित समय : २०:१९ बजे

















