गृहपृष्ठ एनपीएल सिजन २ : ३५ करोडभन्दा बढी आम्दानी हुने अनुमान
एनपीएल सिजन २ : ३५ करोडभन्दा बढी आम्दानी हुने अनुमान
काठमाडौं । मंसिर १ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बारे जानकारी दिँदै सबै तयारी पूरा भएको जानकारी दिएको हो ।
क्यानका अनुसार एनपीएलको दोस्रो संस्करणमा ३५ करोड बढी रकम उठ्ने अनुमान गरिएको छ । सिजन–२ मा स्पोन्सर, टिम, टिकटहरुबाट कुल ३५ करोड बढी उठ्ने अनुमान गरेको हो ।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार स्पोन्सरबाट १५ करोड ३० लाख, ८ वटा फ्रेन्चाइज टीमबाट ९ करोड आम्दानी हुने छ । यस्तै, टिकटबाट ८ देखि १२ करोड उठ्ने खड्काले बताए । ओटीटीबाट ५ करोड ३० लाख कटाएर बाँकी रकमको ७१ प्रतिशत क्यानले पाउनेछ ।
यसैबीच, दोस्रो संस्करणमा पनि विजेताको पुरस्कार राशि पहिलाको जति नै कायम गरिने सचिव पारस खड्काले जानकारी दिए । गत वर्ष एनपीएलको पहिलो संस्करणमा विजेता टोलीलाई १ करोड १० लाख र उपविजेतालाई ५१ लाख रुपैयाँ पुरस्कार दिइएको थियो ।
यस्तै, तेस्रो हुने टोलीले २५ लाख र चौथोले १५ लाख पुरस्कार पाएका थिए । खेलाडीलाई व्यक्तिगत रूपमा दिने पुरस्कार राशि भने पछि जानकारी गराइने क्यानले जनाएको छ ।
एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । एनपीएलको उद्घाटन खेलमा मंसिर १ गते गत सिजनको विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्दैछन् । खेल अपराह्न ४ बजेदेखि सुरु हुने छ ।
प्रकाशित समय : १४:१८ बजे




















