गृहपृष्ठ अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गरेको छ ।

मिलेई नेतृत्वको ला लिबर्टाड अवान्जा (एलएलए) पार्टीले प्रतिनिधिसभा र सिनेटका लागि भएको निर्वाचनमा ४०.८४ प्रतिशत मत प्राप्त गर्दै ठूलो जीत हासिल गरेको छ । यसले विगतका अवरोधहरू पार गर्दै पुनरुत्थान गरेको भन्दै लगानीकर्ताहरूले यस परिणामलाई नजिकबाट हेरिरहेका थिए ।

५५ वर्षीय राष्ट्रपति मिलेईले ब्युेस आयर्समा आयोजित विजय समारोहमा समर्थकहरूलाई सम्बोधन गर्दै भने, “आज हामी एउटा निर्णायक विन्दुमा पुगेका छौँ — आजबाट महान् अर्जेन्टिनाको निर्माण सुरु भएको छ ।” उनले यस निर्वाचनले ‘अर्जेन्टिनाको इतिहासकै सबैभन्दा सुधारवादी संसद्’ ल्याउने विश्वास व्यक्त गरे ।

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिलेईलाई बधाई दिँदै उनलाई ‘अद्भुत काम गरिरहेको छ’ भनेर प्रशंसा गरे।

आइतबार सम्पन्न मतदानमा प्रतिनिधिसभाका आधा र सिनेटका एक तिहाइ सिटका लागि प्रतिस्पर्धा भएको थियो । मिलेईले आफ्नो दलले प्रतिनिधिसभामा सिट सङ्ख्या ३७ बाट बढाएर १०१ र सिनेटमा छ बाट बढाएर २० पुर्‍याएको बताए ।

दोस्रो विश्वयुद्धपछि देशको राजनीतिमा बारम्बार सत्तामा पुगेको मध्य–वामपन्थी पेरोनिस्ट आन्दोलन यस पटक ३१।६४ प्रतिशत मतसहित दोस्रो स्थानमा रह्यो । विपक्षीहरूलाई मिलेईले भन्नुभयो, “धेरै अर्जेन्टिनीहरू पछाडि फर्कन होइन, अगाडि बढ्न चाहन्छन् ।”

दुई वर्षअघि सत्तामा पुगेका मिलेईका लागि यो निर्वाचन उहाँको आर्थिक सुधार कार्यक्रमप्रतिको जनसमर्थनको पहिलो राष्ट्रिय परीक्षा थियो । उनले लामो समयदेखि सङ्कटमा परेको अर्जेन्टिनाको अर्थतन्त्रलाई ठूलो र पीडादायी सुधारमार्फत पुनर्जीवित गर्ने वाचा गरेको थियो ।

तर मतदाताले मतदान गर्नुअघि देशको मुद्रा पेसोमाथि दबाब बढेको थियो । यो अवस्थालाई सामना गर्न राष्ट्रपति ट्रम्पको सहयोगमा ४० अर्ब डलर बराबरको अमेरिकी वित्तीय सहायता प्याकेज अर्जेन्टिनाले प्राप्त गरेको थियो । वासिङ्टनले सहयोगसँगै चेतावनी दिएको थियो—यदि मिलेईको सुधार कार्यक्रम कमजोर भयो भने सहायता सीमित हुन सक्नेछ ।

ट्रम्पले सोमबार सञ्चारमाध्यमसँग भने, “राष्ट्रपति मिलेईप्रतिको हाम्रो विश्वास अर्जेन्टिनाका जनताले उचित ठहराएका छन् ।”

ब्युनस आयर्समा एलएलएको विजय समारोहमा सयौँ समर्थकहरू नाचगान, आलिङ्गन र आँसुका साथ उत्सवमा सहभागी भएका थिए । “म अत्यन्तै उत्साहित छु, यति ठूलो समर्थनको अपेक्षा गरेको थिइनँ”, ३८ वर्षीय मार्केटिङ सल्लाहकार फाकुन्डो क्याम्पोसले भने, “यो खुसी अर्जेन्टिनाले जितेको अन्तिम विश्वकपको गोल जस्तै छ ।”

४५ वर्षीया स्वास्थ्य अधिकारी मारिया जिसस गलानले भने, “मिलेईको सरकारले केही सुधारका ठाउँ राखे पनि यसको ठूलो सम्भावना छ ।”

यद्यपि चुनावअघि केही मतदाताले राष्ट्रपति मिलेईप्रति निराशा व्यक्त गरेका थिए । उनका नजिकका केही सल्लाहकारहरू भ्रष्टाचार घोटालामा मुछिएका थिए । तर धेरै मतदाताले पेरोनिस्ट आन्दोलनबाट टाढा रहन नै आफ्नो समर्थनको मुख्य कारण बताए ।

यस निर्वाचनमा ६७।९ प्रतिशत मत खसेको छ । यो पछिल्ला चार दशकमा सबैभन्दा न्यून हो । यसले जनताको सम्पूर्ण राजनीतिक वर्गप्रतिको असन्तुष्टि झल्काएको विश्लेषकहरूले बताएका छन् ।

सबैभन्दा अप्रत्याशित नतिजा ब्युनस आयर्स प्रान्तमा आएको छ । यहाँ अघिल्लो महिनाको स्थानीय निर्वाचनमा पेरोनिस्टहरूले जितेका थिए । तर यसपटक एलएलएले बलियो पुनरागमन गरेको छ ।

“मिलेईको पार्टीलाई समर्थन गर्नु मेरो लागि उत्कृष्ट विकल्प होइन, तर म कसलाई अस्वीकार गर्न चाहन्छु भन्ने स्पष्ट छ”, ब्युनोस आयर्सकी ६९ वर्षीया पेन्सनभोगी एड्रियाना कोटोनियोले भने ।

पूर्व टेलिभिजन विश्लेषक रहेका मिलेईले पदभार सम्हाल्ने बित्तिकै दशौँ हजार सार्वजनिक क्षेत्रका रोजगारी कटौती गरे, सार्वजनिक निर्माण योजनाहरू रोके, स्वास्थ्य, शिक्षा र पेन्सन खर्च घटाए र देशव्यापी नियन्त्रणमुक्त सुधार अभियान अघि बढाए ।

आरम्भमा यी सुधारहरूका कारण लाखौँ नागरिक गरिबीमा धकेलिएको आरोप लागेको थियो तर मुद्रास्फीति दुई तिहाइले घटेपछि धेरैले राहत महसुस गर्न थालेका छन् । तथापि, आर्थिक वृद्धि सुस्त रहँदा उपभोग र उत्पादन मूल्यहरूमा सुधार देखिएको छैन ।

गत महिना लगानीकर्ताहरूले अर्जेन्टिनाको पेसो बेच्न थालेपछि अमेरिकी प्रशासनले बजारमा हस्तक्षेप गर्दै मुद्रा सन्तुलन कायम गर्न सहयोग पु-याएको थियो ।

चुनावअघि, सरकारले पेसोको अवमूल्यन हुने आशङ्का चर्किएको थियो, तर अर्थमन्त्री लुइस क्यापुटोले मतदानको पूर्वसन्ध्यामा ती अड्कलबाजी अस्वीकार गर्दै भने, “सोमबार अर्को साधारण दिन मात्र हुनेछ । आर्थिक कार्यक्रम वा विनिमय दर प्रणालीमा कुनै परिवर्तन हुने छैन ।”

अप्रिलमा तय गरिएको पेसो–डलर विनिमय दर ब्यान्ड यथावत् राख्ने सरकारको निर्णयले लगानीकर्तालाई केही स्थायित्वको सन्देश दिएको छ ।

प्रकाशित समय : १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु