गृहपृष्ठ उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन उद्योग मन्त्रालयको आग्रह
उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन उद्योग मन्त्रालयको आग्रह
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नहुने जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उपभोग्य वस्तुको माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन र अत्याधिक वस्तु अनावश्यक सञ्चित नगर्नरनगराउन अनुरोध गरेको छ ।
बजार अनगुमनलाई प्रभावकारी बनाउने र उपभोक्ता अधिकार हनन् तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति शृङ्खलामा अवरोध गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ । चाडपर्व लक्षित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् देशभर आजैदेखि १५३ ठाउँबाट सहुलियत मूल्य पसल सञ्चालन गरिएको उल्लेख छ ।
हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिबाट समग्र उद्योग, वाणिज्य, व्यापार तथा आपूर्ति क्षेत्रमा परेको प्रभावका साथै नजिकिँदै गएको चाडपर्वमा गर्नुपर्ने आपूर्ति तथा बजार व्यवस्थापनका सम्बन्धमा मन्त्रालयले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफलसमेत गरेको थियो ।
छलफलमा सरकारी संरचना र निजी व्यावसायिक संस्थामा भएको आगजनी, तोडफोड र क्षतिको एकीकृत विवरण तयार गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
प्रकाशित समय : २०:०२ बजे



















