global ime bank Long Banner Ad

गृहपृष्ठ चीन–अमेरिका वार्ता : सी–ट्रम्प भेटतर्फको सानो तर महत्त्वपूर्ण सङ्केत

चीन–अमेरिका वार्ता : सी–ट्रम्प भेटतर्फको सानो तर महत्त्वपूर्ण सङ्केत

चीन–अमेरिका वार्ता : सी–ट्रम्प भेटतर्फको सानो तर महत्त्वपूर्ण सङ्केत

संयुक्त राज्य अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञ तथा रक्षा प्रमुखबीचको वार्ताले दुई देशका नेताहरूबीच सम्भावित भेटवार्तातर्फ ‘सानो तर महत्त्वपूर्ण कदम’ को सङ्केत दिएको विश्लेषकहरूको भनाइ छ । तर उनीहरूले आसन्न शिखर सम्मेलनबारे अत्यधिक अपेक्षा नगर्न चेतावनी पनि दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अन्तिम भेट सन् २०१९ मा भएको थियो । यसपटकको सम्भावित भेटतर्फ सबैको ध्यान ताइवान, दक्षिण चीन सागर र अमेरिकी कर जस्ता संवेदनशील विषयमा केन्द्रित हुनेछ ।

यस वर्ष दुई ठूला अर्थतन्त्रबीचको तनाव चर्किएको भए पनि अप्रिलपछि दुवैले एकअर्काको निर्यातमा बढ्दो कर लगाएका कारण केही चिसिएको देखिएको छ । ट्रम्प र सीले अन्तिम पटक जुनमा टेलिफोनमा कुरा गरेका थिए । अगस्टमा ट्रम्पले यस वर्ष वा केही समयपछि चीन भ्रमण गर्ने सङ्केत दिएका थिए । तर सीले यसबारे सार्वजनिक टिप्पणी गरेको छैन ।

यसैबीच, बुधबार दुई देशका विदेश र रक्षा प्रमुखबीच भएको वार्ताले नेताहरूबीच प्रत्यक्ष भेटवार्ताको आशा थपेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा चीनसँग ‘रचनात्मक र खुला संवाद’ चाहेको बताएका थिए ।

चिनियाँ विदेश मन्त्रालयले पनि वार्ता फलदायी भएको बताउँदै, तर अमेरिकी पक्षका पछिल्ला नकारात्मक कार्य र भनाइहरूले चीनका वैध अधिकार र चासो कमजोर पारेको चेतावनी दिएको छ ।

सिङ्गापुरका नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका एसोसिएट प्रोफेसर डिलन लोहले भने, “यो वार्ता अघिल्ला संवाद र व्यापार सम्झौताहरूको निरन्तरता हो । सकारात्मक सङ्केत देखिन्छ, तर अझै धेरै कदम चाल्न बाँकी छ ।”

– अनिश्चितता अझै कायम –

यही दिन चिनियाँ रक्षामन्त्रीले पेन्टागन प्रमुख पिट हेग्सेथलाई भिडियो कलमार्फत चेतावनी दिंदै भने, “चीनलाई रोक्न वा हस्तक्षेप गर्न खोज्नु व्यर्थ हुनेछ ।”

सिङ्गापुर नेसनल युनिभर्सिटीका राजनीति विज्ञ चोङ जा इयानले यी संवादले ‘ट्रम्प–सी भेटको मार्ग प्रशस्त गर्न सक्छन्’ भने पनि कुनै ठोस नतिजा अझै प्रष्ट नभएको बताए । “राष्ट्रपतिहरू चाँडै निर्णय बदल्ने स्वभावका हुन्छन्, त्यसैले भेट नजिकै छ भनेर भविष्यवाणी गर्नु अपरिपक्व हुन सक्छ”, उनले भने ।

यी वार्ताहरू केही दिनअघि मात्रै सीले भ्लादिमिर पुटिन र किम जोङ उनसँगै दोस्रो विश्वयुद्धको अन्त्यलाई चिह्नित गर्ने परेडको अध्यक्षता गरेपछि भएका हुन् । ट्रम्पले भने ती नेताहरूलाई अमेरिकाविरुद्ध षड्यन्त्र रचेको आरोप लगाएका छन ।

जापानको सोका विश्वविद्यालयका प्राध्यापक लिम ताई वेईका अनुसार, चीनको प्रणालीले कुनै पनि शिखर सम्मेलनमा अनपेक्षित मोड आउन दिँदैन । सी ट्रम्पसँग भेट्न तयार हुनुभयो भने त्यसअघि सहमत विषयहरूको लिखित सूची चाहिन्छ ।

“अक्टोबरको अन्त्य वा नोभेम्बरको सुरुआतमा दक्षिण कोरियाको ग्योङ्जुमा हुने एपेक शिखर सम्मेलनमा दुई नेताबीच भेट हुने अपेक्षा कायम छ”, विश्लेषक लोहले भने, “तर विश्व राजनीति र आन्तरिक परिस्थितिहरू द्रुत गतिमा बदलिने भएकाले अन्तिम घडीमा केही भन्न सकिँदैन ।”

प्रकाशित समय : १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु