गृहपृष्ठ चिनियाँ विद्युतीय भ्यान ‘क्यारी’ नेपाली बजारमा, सुरुवाती मूल्य ५८ लाख ५६ हजार रुपैयाँ
चिनियाँ विद्युतीय भ्यान ‘क्यारी’ नेपाली बजारमा, सुरुवाती मूल्य ५८ लाख ५६ हजार रुपैयाँ
लक्ष्मी ग्रुपले चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ नेपाली बजारमा औपचारिक रूपमा भित्र्याएको छ । ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले बुधबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्सपो’ मा ‘केभान १’ र ‘केभान २’ नामक दुई विद्युतीय भ्यान सार्वजनिक गरेको हो ।
यी भ्यान व्यावसायिक र शैक्षिक दुवै क्षेत्रलाई लक्षित गरी ल्याएको कम्पनीले जनाएको छ । १५ सिट क्षमताको केभान १ को मूल्य ५८ लाख ५६ हजार रुपैयाँ र १६ सिट क्षमताको केभान २ को मूल्य ६३ लाख ६ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार व्यावसायिक प्रयोजनका लागि खैरो रङको ‘कमर्सियल भेरियन्ट’ र विद्यालयका लागि सुरक्षात्मक पहेँलो रङको ‘स्कुल भेरियन्ट’ उपलब्ध छ । स्कुल भेरियन्टमा बालबालिकाको सुरक्षाका लागि विशेष मापदण्ड र सुविधाहरू थपिएको कम्पनीले जनाएको छ ।
के छन् विशेषता ?
यी भ्यानमा ५३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ । जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा रहेको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर (पीएमएसएम) ले ८० किलोवाटसम्मको अधिकतम पावर र २७० एनएमको टर्क उत्पादन गर्छ ।
नेपाली सडकका लागि उपयुक्त हुनेगरी भ्यानमा १८० एमएमको ग्राउन्ड क्लिरियन्स दिइएको कम्पनीको भनाइ छ । सुरक्षाका लागि अगाडि डिस्क र पछाडि ड्रम ब्रेकका साथै एबीएस, ईबीडी र फायर एक्सटिन्गुइसर जस्ता फिचरहरू समावेश छन् ।
प्रकाशित समय : १६:०१ बजे



















