global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णालीको समग्र गुरुयोजना आवश्यक : उपसभापति खड्का

कर्णालीको समग्र गुरुयोजना आवश्यक : उपसभापति खड्का

कर्णालीको समग्र गुरुयोजना आवश्यक : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक रहेको बताएका छन् । उनले कर्णाली प्रदेशको संभावना, साधन–स्रोतको उपलब्धता र लक्ष्यसहितको गुरुयोजना निर्माण गरेर सोही अनुसार तीन तहका सरकार र विकास साझेदारहरुलाई परिचालन गरेमा यहाँको विकासको गतिले तिब्रता पाउने बताए ।

उनले कृषि, फलफूल, जडिबुटी, जलविद्युत, पर्यटन, पूर्वाधार, सांस्कृतिक लगायतका पक्ष समेटेर गुरुयोजना निर्माण गरिनुपर्ने बताए ।

‘स्रोत, संभावना र लक्ष्यसहितको गुरुयोजना बनाउन सक्यौं भने मात्रै कर्णालीको द्रूत विकास गर्न संभव छ,’ मंगलबार प्रदेश योजना आयोगका पदाधिकारीहरुसँगको भेटमा उपसभापति खड्काले भने, ‘गुरुयोजनाको लक्ष्य अनुसार तीन तहका सरकार र विकास साझेदारहरुलाई केन्द्रीत गर्न सकिन्छ ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले कर्णाली भूगोलमा ठूलो भएपनि छरिएर रहेका बस्तीका कारण नागरिकका घर-घरमा आधारभूत आवश्यकता पूरा गर्न समय लाग्ने भएकाले छरिएर रहेका बस्तीलाई एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘कर्णालीमा ठूलो र आधुनिक शहरको सम्भावना कहाँ छ ? नदी किनारमा बस्तीको संभावना कहाँ छ ? पहाडमा दुई घर–तीन घर छन्, त्यहाँ बाटो, विजुली, खानेपानीलगायतका नागरिकहरूलाई आधारभूत सुविधा पुर्‍याउन समय लाग्छ,’ उनले भने, ‘छरिएर रहेका बस्तीहरूलाई एकीकृत गर्दै विकास पूर्वाधार र अन्य सुविधाहरू पुर्‍याउने लक्ष्य गुरुयोजनामा समेटिनुपर्छ ।’

उपसभापति खड्काले कर्णाली प्रदेशले लगानी सम्मेलनको आयोजना गर्न लागेको आफूले सुनेको बताउँदै त्यस्तो सम्मेलनअघि लगानीका क्षेत्रहरुको पीडीआर तयार गर्न सुझाव दिए ।

प्रकाशित समय : १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु