गृहपृष्ठ अमेरिका र जापानबिच हालसम्मकै ठूलो ब्यापार सम्झौता
अमेरिका र जापानबिच हालसम्मकै ठूलो ब्यापार सम्झौता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग अहिलेसम्मकै ठूलो ब्यापारिक सम्झौता गरेको बताएका छन्। बहुप्रतीक्षित मानिएको व्यापार सम्झौताको घोषणा गर्दै उनले अमेरिकी इतिहासकै ऐतिहासिक ब्यापारिक सम्झौता गरेको बताए।
केही साताअघिसम्म अपत्यारिलो देखिएको यो सम्झौता अमेरिका र जापानको लामो छलफलपछि सम्भव भएको हो। दुइ प्रमुख व्यापार साझेदारबीचको यो सम्झौतालाइ दुबै देशले स्विकारेका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा भने ‘हामीले जापानसँग एक विशाल सम्झौता सम्पन्न गरेका छौं। सम्भवतःअहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता हो।’
यो सम्झौताअनुसार, अमेरिकामा निर्यात गरिने जापानी सामानहरूमा १५ प्रतिशत ‘पारस्परिक’ महसुल (रेसिप्रोकल ट्यारिफ) निर्धारण भएको छ। साथै, जापानले अमेरिकामा ५ सय ५० अर्ब अमेरिकी डलर लगानी गर्ने बताइएको छ।
ट्रम्पका अनुसार, ‘अमेरिकाले सो लगानीबाट ९० प्रतिशत नाफा प्राप्त गर्ने छ।’ यद्यपि उनले ती लगानी कसरी सञ्चालन हुने छन्। वा नाफा कसरी गणना गरिने र प्राप्त हुने छ भन्नेबारे कुनै स्पष्ट विवरण दिएका छैनन्। अहिलेसम्म कुनै औपचारिक सम्झौता कागज भने सार्वजनिक गरिएको छैन।
‘यो सम्झौताले लाखौं रोजगारी सिर्जना गर्ने छ यस्तो सम्झौता पहिले कहिल्यै भएको थिएन। अझ महत्वपूर्ण कुरा, जापानले आफ्नो बजार अमेरिकासँग व्यापारका लागि खोल्ने छ। जसमा कार, ट्रक, चामल र केही अन्य कृषि उत्पादनहरू पनि पर्नेछन्। जापानले अमेरिकालाई १५ प्रतिशतको पारस्परिक महसुल तिर्नु पर्ने छ।’ ट्रम्पले लेखे।
प्रकाशित समय : १०:२१ बजे




















