वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
वि.सं.२०८२ साउन १ बिहीवार १५:५८
shares

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्। अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको आगामी पाँच खेलको घरेलु टी–२० शृङ्खलाको पहिला दुई खेल उनको टोलीका लागि अन्तिम खेल हुनेछ।
३७ वर्षीय रसेललाई पाँच खेलको शृङ्खलाका लागि विन्डिज टोलीमा समावेश गरिएको छ। यस शृङ्खलाको पहिला दुई खेल जमैकाको सबिना पार्कमा खेलिनेछ। यो उनको घरेलु मैदान हो। उनले आफ्नो घरेलु मैदानबाटै अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ दिनेछन्।
विन्डिज क्रिकेटले सामाजिक सञ्जालमार्फत आन्द्रे रसेलको सन्न्यासबारे जानकारी दिएको छ। टी–२० अन्तर्राष्ट्रियमा उनले तीन अर्धशतकीय इनिङ्स खेलेका छन् र ७१ रन उनको उत्कृष्ट स्कोर हो। उनले ३०.५९ को औसत र ३–१९ को उत्कृष्ट प्रदर्शनका साथ ६१ विकेट पनि लिएका छन्। उनको सन्न्यास अर्को आईसीसी टी–२० विश्वकपको ७ महिना अगाडि आएको छ। आईसीसी टी–२० विश्वकप फेब्रुअरी २०२६ मा भारत र श्रीलंकाले आयोजना गर्दैछन्।






















