global ime bank Long Banner Ad

गृहपृष्ठ चेपाङ समुदायको उत्थानका लागि चिउरीका बेर्ना वितरण

चेपाङ समुदायको उत्थानका लागि चिउरीका बेर्ना वितरण

चेपाङ समुदायको उत्थानका लागि चिउरीका बेर्ना वितरण

इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायलाई तीन हजार चिउरीका बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरेको हो ।

गाउँपालिकाको कृषि शाखाकी अधिकृत समीक्षा पौडेलका अनुसार वडा नम्बर १, २ र ६ का चेपाङ समुदायलाई चिउरीको क्षेत्र विस्तारअन्तर्गत ती बिरुवा वितरण गरिएको हो ।

फल, घ्यू, तेल, पिना, चोपबाट लिसो, माछा मार्ने कीटनाशक औषधि, दुनाटपरी, डाँले घाँसलगायत बहुउपयोगी प्रयोग हुने चिउरीका माध्यमबाट जीविकोपाजर्नमा सहयोग पुर्‍याउने र यसको संरक्षण गर्न बिरुवा वितरण गरिएको उनले जानकारी दिइन् । उनका अनुसार प्रत्येक वडामा एक हजारका दरले बिरुवा वितरण गरिएको हो ।

चेपाङ समुदायमा परम्परागत रूपमा छोरीको बिहेमा चिउरीको बिरुवा आयआर्जनका लागि दाइजो दिने गरिन्छ ।

चिउरीलाई प्रोटिनयुक्त खाद्य स्रोतका रूपमा लिने गरिन्छ । चिउरीको परागसेचनका लागि शाकाहारी चमेरो आवश्यक पर्ने उनले बताए ।

अघिल्लो आर्थिक वर्ष गाउँपालिकाले चिउरीको बिरुवा गणना गरेको थियो । ‘गणनाका क्रममा तीन हजार ४७१ वटा बोट रहेको पाइएको थियो । सोही वर्ष पाँच सय वटा बिरुवा वितरण गरिएको थियो । चिउरीको संरक्षणका लागि मौरी घारसमेत वितरण गरिएको छ । चेपाङ समुदायका ९२ परिवारलाई मौरीको घार वितरण गरिएको हो’, कृषि अधिकृत पौडेलले भनिन् ।

चिउरी संरक्षणसँगै शाकाहारी चमेरो समेत संरक्षणमा मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । चेपाङ समुदायमा मासुका रूपमा प्रयोग हुने चमेरोको संरक्षण गर्दा यस समुदायको आयआर्जनमा टेवा पुग्ने उनले बताइन् । चमेरो व्यावसायिक रूपमा मासु र बिक्री गर्ने प्रचलन अन्त्य गर्न यस कार्यक्रमले टेवा पुग्ने पौडेलले बताइन् ।

एक वर्षमा एउटा मात्र सन्तान उत्पादन गर्ने चमेरो पछिल्लो समय सङ्कटमा परेको उनको भनाइ छ । उनले भनिन्, ‘चमेरोको बढ्दो व्यावसायिकीकरण भयो । यसलाई संरक्षण गर्न गाउँपालिका लागेको छ ।’ रासस

प्रकाशित समय : १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु