गृहपृष्ठ भोजपुरको अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास
भोजपुरको अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास
भोजपुरस्थित अरुण गाउँपालिकामा निर्माण हुन लागेको अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास गरिएको छ।
सो भवनको शिलान्यास आज एक विशेष समारोहका बीच अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र नेपालस्थित भारतीय दूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा गरे।
नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा करिब ३.१८८ करोड रुपैयाँ लागतमा उक्त भवन निर्माण गरिनेछ। तीन तले यो बहुउद्देश्यीय प्रतिष्ठानमा कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय, साथै अन्य सहायक संरचनाहरू निर्माण गरिने छन्।
परियोजना भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिने उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत पर्दछ। यसको कार्यान्वयन गाउँपालिकामार्फत गरिनेछ।
कार्यक्रममा अध्यक्ष खत्रीसहितका स्थानीय नेताहरूले नेपालको शिक्षा र सांस्कृतिक पूर्वाधार विस्तारमा भारतले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे। अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनले विशेषगरी स्थानीय तहमा सांस्कृतिक तथा शैक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
भारत सरकारले सन् २००३ यता नेपालभरि ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ। जसमध्ये कोशी प्रदेशमा मात्र ९३ वटा परियोजना रहेका छन्। साथै, भारतले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरुलाई १०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ।
प्रकाशित समय : १९:१६ बजे




















