global ime bank Long Banner Ad

गृहपृष्ठ षडानन्द १२–तुर्के पुल–फाली दोबाटो सडक कालोपत्र अन्तिम चरणमा

षडानन्द १२–तुर्के पुल–फाली दोबाटो सडक कालोपत्र अन्तिम चरणमा

षडानन्द १२–तुर्के पुल–फाली दोबाटो सडक कालोपत्र अन्तिम चरणमा

भोजपुरको षडानन्द १२–तुर्के पुल–साम्पाङ–फाली दोवाटो सडक कालोपत्रको काम ८५ प्रतिशत सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको भ्याटसहित ५१ करोड ६२ लाख लागतमा यो सडक कालोपत्र थालिएको हो ।

यो सडकको वित्तीय प्रगति ८२ प्रतिशत र भौतिक प्रगति करिब ८५ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय भोजपुर प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।

“यो सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको छ”, प्रमुख रेड्डीले भने, “हालसम्म करिब ८५ प्रतिशत कालोपत्र सम्पन्न भएको अवस्था छ । यो सडकलाई निर्धारित समयमा सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।” सम्पूर्ण ढाँचाको काम सम्पन्न भएर कालोपत्रको काम भइरहेको उनको भनाइ छ । कूल २० किलोमिटरमध्ये ११ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको कार्यालयको भनाइ छ ।

यो सडक कालोपत्र भएपछि उत्तरी क्षेत्रका नागरिकलाई सहजता हुने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । सडकलाई निर्धारित समयमा गुणस्तरीय ढङ्गले सम्पन्न गराउन नगरले आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ ।

“षडानन्द १२–तुर्के पुल–साम्पाङ–फाली दोबाटो सडक कालोपत्रको काम तीव्रगतिमा भइरहेको छ”, प्रमुख उदासले भने, “यो उत्तरी क्षेत्रको एक महत्वपूर्ण सडक हो । यसलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन नगरले आवश्यक सहयोग गर्दै आएको छ ।”

आस्फाल्ड प्रविधिमा कालेपत्र भइरहेको सडकको गुणस्तरमा विषेश ध्यान दिइएको कार्यालयका इञ्जिनियर प्रशराम शाहले बताए । निर्माण कम्पनीले इञ्जिनियरको प्रत्यक्ष निगरानीमा कालोपत्रको गरिरहेको कार्यालयको भनाइ छ । सामग्रीको ल्याब परीक्षणपछि मात्र प्रयोगको लागि अनुमति दिइएको इञ्जिनियर शाहको भनाइ छ ।

“सडक तोकिएको मापदण्डअनुसार कालोपत्र भइरहेको छ”, इञ्जिनियर शाहले भने, “यहाँ प्रयोग हुने सामग्रीको ल्याब परीक्षणपछि मात्र प्रयोगको लागि अनुमति दिएका छौँ ।” आस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको यो सडकको चौडाइ साढे पाँच मिटर हुने कार्यालयले जनाएको छ ।

षडानन्द १२–तुर्के पुल– साम्पाङ–फाली दोबाटो सडक कालोपत्र हुन थालेपछि उत्तरी क्षेत्रका नागरिक उत्साहित भएका छन् । यो सडकले उत्तरी क्षेत्रमा पर्ने षडानन्द र साल्पासिलिछो गाउँपालिकाका स्थानीयवासीलाई राहत मिल्ने वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताए । सडक कालोपत्र भएपछि आवतजावतसँगै यहाँका कृषिउपजका लागि बजारीकरणसमेत टेवा पुग्ने उनको भनाइ छ ।

यो सडक कोशी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालनमा निर्माण सुरु गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिए । कोभिडलगायत कारणले काममा बाधा पुगेको कारण काममा केही ढिलाइ भएको उनको भनाइ छ । पछिल्लो समयमा भने कालोपत्रको कामले तीव्रता पाएको उनले बताए।

सडक कालोपत्रको काम लामा, बानियाँ जेभी कम्पनीले गरिरहेको छ । विसं २०७७ मा सम्झौता भएको सडक विसं २०८२ कात्तिक महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।

प्रकाशित समय : १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु