गृहपृष्ठ फ्रान्सको जंगलमा लागेको डढेलो मार्सेलीसम्म पुग्यो, विमानस्थल र रेल सेवा बन्द
फ्रान्सको जंगलमा लागेको डढेलो मार्सेलीसम्म पुग्यो, विमानस्थल र रेल सेवा बन्द
दक्षिणी फ्रान्सको जंगलमा लागेको भीषण डढेलो दिनप्रतिदिन घातक बन्दै गइरहेको छ । डढेलो फैलिँदै गएर यसको प्रभाव फ्रान्सको ठुलो सहर मार्सेली नजिक देखिन थालेको छ ।
डढेलोलाई ध्यानमा राखेर सरकारले मार्सेली विमानस्थल बन्द गरेको छ भने सबै उडानहरू रोकिएका छन् । मिडिया रिपोर्टका अनुसार यो डढेलो मार्सेली सहर नजिकै रहेको पिन–मिराबो नामक ठाउँबाट देखिन सुरु भएको थियो । छिटोछिटो आगो फैलिँदा रेल सेवाहरू पनि बन्द गर्नुपरेको छ भने धेरै प्रमुख सडकहरू पनि बन्द गरिएको छ ।
बढ्दो डढेलो नियन्त्रण गर्न सरकारले ७२० अग्नि नियन्त्रक र २२० भन्दा बढी दमकल र मेसिनहरू परिचालन गरेको छ । डढेलोले अहिलेसम्म करिब ७०० हेक्टर जंगल जलेको प्रशासनले बताएको छ ।
स्थिति बिस्तारै नियन्त्रणमा ल्याउने प्रयास भइरहेको पनि बताइएको छ । वन डढेलोको बढ्दो घटनाहरूलाई विज्ञहरूले जलवायु परिवर्तन, अत्यधिक गर्मी र सुख्खा मौसमको परिणाम मानेका छन् ।
प्रकाशित समय : ११:३३ बजे


















