global ime bank Long Banner Ad

गृहपृष्ठ पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल

पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल

पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल

नेपाली सेफ टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुरेन्ट ‘उत्कृष्ट अवार्ड’ को उपाधि जित्न सफल भएको छ ।

बागलुङका सेफ सापकोटाले पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ युरोपकै शीर्ष १०औँ स्थानमा परी ‘अवार्ड’ जित्न सफल भएकोे जानकारी दिए ।

यसरी युरोपका ५० उत्कृष्टमध्ये १०औँ र पोर्चुगलमा सर्वोत्कृष्ट पिज्जा रेष्टुरेन्ट बन्न सफल हुनुभएका सञ्चालक सापकोटाको योगदान र भूमिकालाई कदर गर्दै ‘उत्कृष्ट पिज्जा अवार्ड’ र ‘परफर्मेन्स अफ द इयर २०२५–रोबो अवार्ड’ बाट उहाँ सम्मानित भएको छ । ‘फिफ्टी टप पिज्जा युरोप’ ले स्पेनको राजधानी म्याड्रिडमा आयोजना गरेको कार्यक्रममा सेफ सापकोटालाई ‘अवार्ड’सहित पुरस्कृत गरेको हो ।

यसरी प्रत्येक वर्ष प्रदान गरिने अवार्डअन्तर्गत यस वर्ष ‘युरोपको उत्कृष्ट १०औँ पिज्जेरिया’ र ‘परफर्मेन्स अफ द इयर २०२५–रोबो अवार्ड’ प्राप्त गरेको रेष्टुरेन्ट सञ्चालक सापकोटाले जानकारी दिए । ‘र्फोनो दी ओरो’ युरोपको उत्कृष्ट १०औँ र पोर्चुगलको सर्वोत्कृष्ट रेष्टुरेन्ट बन्नसमेत सफल भएको बताए ।

“एउटा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्ट युरोपकै उत्कृष्ट १० भित्र पर्न सफल हुनु नेपाल र नेपालीका लागि गौरवको विषय हो”, खुसी व्यक्त गर्दै सापकोटाले भने, “उत्कृष्ट १० को अवार्ड पाउने पोर्चुगलकै पहिलो रेष्टुरेन्ट बन्नु आफ्नो व्यावसायिक जीवन र इतिहासकै ठूलो उपलब्धि हो ।”

‘फिफ्टी टप पिज्जा युरोप’ एक अन्तरराष्ट्रिय गाइड हो, जसले हरेक वर्ष उत्कृष्ट पिज्जा रेष्टुरेन्टहरूको मूल्याङ्कन गर्दै शीर्ष ५० सूची सार्वजनिक गर्दछ । स्वाद, गुणस्तर, सेवा, वातावरण, परम्परागत पिज्जा निर्माणको शैली तथा ग्राहक सन्तुष्टिलगायतका मापदण्डहरूका आधारमा उत्कृष्ट रेष्टुरेन्ट मूल्याङ्कन तथा वर्गीकरण गरिने प्रावधान छ ।

करिब २८ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका बागलुङ, दमेकका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुरेन्ट सञ्चालनमा छन् । पाककलामा उत्कृष्ट कला कौशल प्रदर्शन गरेकै कारण दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गरिसकेको छ । केही महिनाअघि मात्रै इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटेर सापकोटाले निर्माण गरेको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘इटालीको स्वाद’ यहाँ सार्वजनिक गरिएको थियोे ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु