दोलखामा पुर्वाधार विकास कार्यालयका १४४ आयोजना
९० प्रतिशत योजना सकिए, उपभोक्ता समितिका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य
वि.सं.२०८२ जेठ २३ शुक्रवार १५:०४
shares

बागमती प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गतको पुर्वाधार विकास कार्यालय दोलखामा चालु आर्थिक वर्ष र बहुवर्षिय गरि १४४ वटा आयोजना सञ्चालनमा छन् ।
बहुवर्षिय , सालबसाली र उपभोक्ता समिति मार्फत निर्माण हुने आयोजनाको संख्या १४४ पुगेको हो । कार्यालयले जिल्लाका ९ वटै स्थानीय तहमा साना ठुला र बहुबर्षिय गरि १४४ योजना सञ्चालन गरेकोमा झण्डै ९० प्रतिशत योजनाको काम सम्पन्न भएको जनाएको छ । साना ठेक्का तथा उपभोक्ता समितिले सम्पादन गर्ने योजनाहरुमध्ये भीमेश्वर नगरपालिकामा २०, जिरी नगरपालिकमा १३, तामाकोसी गाउँपालिकमा १३, शैलुङ गाउँपालिकामा ९ , मेलुङ गाउँपालिकामा १३, कालिञ्चोक गाउँपालिकामा १३ , गौरीशंकर गाउँपालिकमा ६ वटा , विगु गाउँपालिकामा ११ र वैतेश्वर गाउँपालिकामा २१ वटा योजना रहेको कार्यालयले जनाएको छ ।
पुर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरि प्रसाद ओझाले यसरी स्थानीय तहमा सञ्चालित योजनाहरु १० लाख देखि ५० लाखसम्मका लागतका छन् । कार्यालय प्रमुख ओझाले चालु आर्थिक वर्ष सञ्चालन हुने मुख्य ठुला सडक आयोजनाहरु धमाधम निर्माण भैरहेका छन् । उनका अनुसार ४ करोड लागतको मुडे बाघखोर कालापानी सडक , सिद्धाको थान जुगु झ्याँकु सडक , सिंगटी लादुक बुलुङ सडक र चरिकोट कालिञ्चोक सडक मुख्य मुख्य आयोजनाहरु हुन् ।
कार्यालयले ६४ वटा योजनाहरु सार्वजनिक खरिद नियमावली अनुसार ठेक्का प्रकृयामार्फत काम गराइरहेको छ भने ६० वटा योजनाहरु उपभोक्ता समिति मार्फत निर्माण भैरहेका छन् । त्यसरी निर्माण भैरहेका आयोजनाहरु ठेक्का प्रकृयामार्फत १५ करोड ५८ लाख र उपभोक्ता समिति मार्फत ६ करोडको लागतमा बनिरहेका छन् । त्यसरी निर्माण भैरहेका आयोजनाहरु ८ वटा बहुवर्षिय सडक छन भने ४ वटा सडक पुल रहेको कार्यालय प्रमुख ओझाले जानकारी दिए । कार्यालय प्रमुख ओझाका अनुसार उपभोक्ता समिति मार्फत निर्माणाधिन र साना सालबसाली योजनाहरुमध्ये चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्नुपर्ने हुँदा अहिलेसम्म झण्डै ९५ प्रतिशत काम सम्पन्न भैसकेका छन् । उनले जेठ मसान्तभित्रै सबै योजनाहरुको भौतिक प्रगति पुरा हुने र असारको पहिलो सातासम्म भुक्तानी दिइसक्ने तयारी रहेको जानकारी दिएका छन् ।
७४ करोड २९ लाख बजेट
कार्यालयले उल्लेखित योजनाहरु सम्पन्न गर्न प्रदेश मन्त्रालयबाट ७४ करोड २९ लाख बजेट खर्च गर्दै छ । कार्यालय प्रमुख ओझाका अनुसार सडक तथा पुलका लागि १६ करोड ६१ लाख , मर्मत तथा अन्य पुर्वाधार तर्फ २ करोड १२ लाख , प्रादेशिक लोकमार्ग ११ करोड ८७ लाख , प्रादेशिक मार्ग २४ करोड ५४ लाख र शहरी तथा स्थानिय सडकका लागि १९ करोड ८५ लाख रहेको छ ।






















