गृहपृष्ठ रकेटको शैलीमा विकासको काम गर्न प्रधानमन्त्रीको निर्देशन
रकेटको शैलीमा विकासको काम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् ।
मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनुकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेशका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्न आग्रह गरे ।
सुशासन र विकासमा जोड दिँदै उनले भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती भएकाले विकासका लागि वामे सराइ नभइ रकेटको शैलीमा काम गर्न आग्रह गरे । कुनै पनि परियोजनमा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने उनको भनाइ थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी बागमती नदीको सहायक नदी मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेशका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइनेछ ।
साथै ३१ दशमलव ०७ मेगावाटको जलविद्युत् उत्पादनबाट औद्योगिक विकासमा टेवा पुर्याइनेछ ४९ अर्ब ४२ करोडको सो आयोजनाको हेड वक्र्समा गत वर्षको बाढी–पहिरोबाट सामान्य क्षति हुँदा केही समय काम प्रभावित भएको थियो ।
प्रकाशित समय : १७:५८ बजे




















