गृहपृष्ठ नवनियुक्त गभर्नर डा.विश्व पौडेल मार्फत अर्थतन्त्रले कोल्टे फेर्ने जनअपेक्षा
नवनियुक्त गभर्नर डा.विश्व पौडेल मार्फत अर्थतन्त्रले कोल्टे फेर्ने जनअपेक्षा
नेपाल राष्ट्र बैंकको नेतृत्वमा डा.विश्व पौडेलको आगमनलाई अर्थतन्त्र पुनः स्थायीतर्फ उन्मुख हुने संकेतका रूपमा लिइएको छ। मुलुक दीर्घकालीन आर्थिक असन्तुलन, बढ्दो व्यापार घाटा,घट्दो विदेशी मुद्रा सञ्चिति,वैदेशिक लगानीको अभाव र असहज वित्तीय नीतिका कारण चिन्तित छ। यस्तो सन्दर्भमा अब गभर्नरको भूमिका केवल बैंक तथा वित्तीय संस्था नियमन गर्नेभन्दा धेरै फराकिलो छ—उनले जनताको आर्थिक मनोविज्ञान परिवर्तन गर्ने चुनौती पनि सँगसँगै बोकेका छन् ।
मौद्रिक नीतिमा स्पष्टता,स्थिरता र विश्वास जस्ता विषयमा जनअपेक्षा उल्लेख्य छन् । गभर्नर पौडेलसँगको अपेक्षा, स्वतन्त्र, जिम्मेवार र पारदर्शी मौद्रिक नीति निर्माण हो। पछिल्ला वर्षहरूमा मौद्रिक नीति सरकारको दबाबमा बनेको आरोप लाग्दै आएका छन्। अब नीति निर्माण प्रक्रियामा विद्वान अर्थशास्त्री, उद्योगी, बैंकिङ क्षेत्रका विज्ञ र जनप्रतिनिधिको समावेशी संवाद जरुरी देखिन्छ।
बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभावले ऋण प्रवाह अवरुद्ध छ। यसको असर सीधा साना व्यवसाय, युवा उद्यमशीलता र उत्पादन क्षेत्रमा परेको छ। गभर्नर पौडेलले तत्काल ब्याजदरको अस्थिरता नियन्त्रण, कर्जा प्रवाहको सहजता, र तरलता ब्यवस्थापनमा व्यावहारिक उपाय ल्याउने अपेक्षा जनस्तरमा छ।
त्यस्तै देशको वैदेशिक मुद्रा सञ्चिति खस्कँदै गएको छ,यो अवस्था नियन्त्रण गर्न गभर्नरले वैदेशिक रोजगार नीतिमा राष्ट्र बैंकको समन्वय बढाउनु पर्ने देखिन्छ। विप्रेषण प्रणालीलाई प्राविधिक, सहज र सस्तो बनाउनु जरुरी छ। ग्रामीण भेगमा अझै बैंकिङ सेवा पुग्न सकेको छैन। मोबाइल बैंकिङ, तथा डिजिटल प्रणाली प्रवर्द्धन गर्दै गभर्नरले सबै नागरिकलाई वित्तीय पहुँचमा ल्याउने कार्यलाई गति दिनुपर्ने देखिन्छ।
त्यसैगरी पुँजी बजारको सुदृढीकरण पनि जरुर आबश्यक छ। शेयर बजार अनिश्चितताले ग्रस्त छ, लगानीकर्ताको विश्वास घट्दो छ। राष्ट्र बैंकले मूल्य स्थिरता कायम राख्दै पुँजी बजारसँग सहकार्य गर्नुपर्ने समय आएको छ। साना लगानीकर्तालाई आकर्षित गर्ने नीति बनाउनुको साथै लगानी प्रवाह र वित्तीय साक्षरतामा जोड दिनुपर्ने टट्कारो आबश्यकता छ । लघुवित्तदेखि वाणिज्य बैंकसम्मको सञ्चालनमा अनियमितता, लाभांश लोभ र नाफामुखी प्रवृत्तिमा अंकुश लगाउने दायित्व पनि राष्ट्र बैंककै हो। स्वचालित निगरानी प्रणालीको प्रवर्द्धन गर्दै वित्तीय अनुशासनको अभ्यास गराउनु अर्को मुख्य चुनौती हो ।
गभर्नर डा. विश्व पौडेलप्रति जनताको अपेक्षा उच्च छ किनकि उनि मात्र होइन सैद्धान्तिक र व्यवहारिक दुवै दृष्टिले सक्षम मानिन्छन । अब देखिने कुरा भनेको उनको निर्णय लिने हिम्मत, सरकारसँगको सन्तुलित सम्बन्ध र जनतासँगको इमानदार संवाद हो। देशले केवल गभर्नर खोजेको छैन एक आर्थिक नेतृत्व खोजेको हो, जुन संकटबाट स्थायित्व, अस्थिरता बाट समाधान र अनिश्चितताबाट विश्वासतर्फ डोर्याओस्। नवनियुक्त गभर्नर पौडेललाई हार्दिक बधाइ तथा स्वर्णिम कार्यकालको शुभकामना।
प्रकाशित समय : १४:३४ बजे



















