कांग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
वि.सं.२०८२ वैशाख २ मंगलवार १७:४९
shares

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति तथा जिल्ला विकास समिति दाङका पूर्वसभापति तिर्थराज ज्ञवाली ‘चैतु’ को निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
नेता ज्ञवालीको आज निधन भएको हो । कांग्रेसले उनले सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गरेको छ । लामो समयसम्म कांग्रेसकोे विभिन्न पदीय जिम्मेवारीमा रहेर ज्ञवालीले कार्य गरेको थियो । उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।
विसं २०२३ देखि राजनीतिमा प्रवेश गरेका स्व ज्ञवालीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको थियो । विसं २००८ जेठमा जन्मेका उनले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा करिब साढे चार वर्ष जेल जीवन बिताएको थियो ।
तत्कालीन पञ्चायती व्यवस्थाले उनको सर्वस्वहरण गर्नुका साथै आजिवन कारावासको सजायसमेत गरेको थियो ।
























