global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ वाग्द्वार स्नान मेलामा हजारौँ भक्तजनको घुइँचो

वाग्द्वार स्नान मेलामा हजारौँ भक्तजनको घुइँचो

वाग्द्वार स्नान मेलामा हजारौँ भक्तजनको घुइँचो

मनमोहक वातावरणको हरियाली जङ्गलमा मानिसको लर्को लागेको छ । नयाँ वर्षको सूर्योदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक क्षेत्रमा बढ्दै गएको छ ।

यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ । मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड निकुञ्जतर्फ लागेको हो । कति भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी पुगेका थिए । आइतबार बेलुकी नै पुगेका भक्तजन बिहानै स्नान गरी फर्कंदै गरेको दृश्य देखिन्छ । वैशाख १ गते वाग्द्वार आउने जाने भक्तजनले सुन्दरीजल क्षेत्र मेलामय बनेको छ । बूढानीलकण्ठ क्षेत्रमा पनि यस्तै दृश्य देखिएको जनाइएको छ ।

राजधानीको कोलाहलबाट नजिकैको शान्त एवं रमणीय स्थलमा नयाँ वर्ष मनाउन मानिसको भीड लागेको हो । पाँच वर्ष अघि वाग्द्वार एवं यसको प्रवेशमार्ग सुन्दरीजलको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वाग्द्वारको प्रचारप्रसार गर्न गोकर्णेश्वर नगरपालिकाले महोत्सवको आयोजना गरेको थियो ।

यसैगरी बूढानीलकण्ठ नगरपालिकाले पनि बेला बेलामा यस्ता कार्यक्रम आयोजना गर्ने गरेको छ । जसबाट वाग्मती नदीको शिरो भाग वाग्द्वार क्षेत्रको प्रचारप्रसार हुने गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र काठमाडौँ र नुवाकोट जिल्ला एवं गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वार नववर्षका दिन स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ ।

आज यहाँ आई स्नान गरेमा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन वाग्मतीमा स्नान गरेमा मनकामना सिद्ध हुने धार्मिक विश्वास समेत छ ।

वैशाख महिना र वाग्मतीको सम्बन्ध रहेकाले प्राचीनकालदेखि नै चोभारदेखि वाग्द्वारसम्म वाग्मती तीर्थयात्रा गर्ने विधान छ । विसं २०३० देखि लोप भएको यो जात्रालाई पशुपति क्षेत्र विकास कोषले २०७५ देखि निरन्तरता दिएको छ । २०७५ र २०७६ गरी दुई वर्ष गरिएको वाग्मती तीर्थयात्रा त्यसपछिका केही वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको थियो । कोरोना महामारी कम भएपछि पनि तीर्थयात्रा गराउने आगमघरका पुजारीको स्वास्थ्यका कारण तीर्थयात्रा हुन सकेको छैन । यस वर्ष पनि वाग्मती तीर्थयात्रा गर्ने नगर्ने निश्चित नभएको कोषले जनाएको छ ।

उपत्यकाको सभ्यताको स्रोत वाग्मती उत्पत्तिको कथा

वाग्द्वारको उत्पत्तिका विषयमा विभिन्न किम्वदन्ती प्रसिद्ध छन् । सृष्टिको सुरुमा ब्रह्माजी मृगेन्द्रशिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भयो । ब्रह्माजीले शिवजीको ध्यान गरी शिवजीको वाग् अर्थात् बोलीबाट प्रकट भएकाले यस नदीको नाम वाग्मती रहेको नेपाल माहात्म्यको हिमवत्खण्डलगायत धार्मिक ग्रन्थमा व्याख्या गरिएको वेदमा विद्यावारिधि गरेका प्रा डा ऋषिराम पोखरेल बताउछन ।

“ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यहीँ भएको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट वाग्मती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्मती र वाग्मती आदि नामले पुकारिन्छ”, उनले भने ।

वाग्मती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनि अश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ, भुक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको धार्मिक विश्वास छ । वाग्मती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भक्भके बोली भएकाको बोलीमा शुद्धता आउने जनविश्वास छ । यही विश्वासका कारण पनि वैशाख १ गते हजारौँ मानिस स्नान र जल सेवनका लागि वाग्द्वारमा पुग्ने गर्छन् ।

शिवजीको बोलीबाट वाग्मती प्रकट भएर अरु नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवं दान गरेमा पुण्य प्राप्त हुनेछ भनी भगवान विष्णुले वरदान दिएकाले सूर्यग्रहण, चन्द्रग्रहण र औँसी आदि पर्वमा वाग्मतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चली आएको वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटा बताउछन ।

वाग्मती नदी भारतमा रहेको जमुना नदीसँग नमिलुञ्जेल अविच्छिन्नरूपमा वाग्मतीकै नामले चिनिने र यसबीचमा एक हजार आठ तीर्थस्थल बनेका छन् । ती प्रत्येक तीर्थमा समय समयमा मेला लाग्ने गरेकाले पनि वाग्मती नदीको महत्त्व रहेको छ ।

प्राचीनकालमै तपस्या, ध्यान र साधनाका लागि सिद्ध स्थल मानिएको शिवपुरी क्षेत्रमा अगस्त्य, दधिची र कार्तिकेयलगायत ऋषिले आई तपस्या गरेको प्रमाण विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । आधुनिक युगमा पनि शिवपुरी बाबा यसै क्षेत्रमा आई तपस्या गरेर विश्वप्रसिद्ध भए ।

यस क्षेत्रमा शिव पार्वतीको जोडी घुम्दै आउँदा सुन्दरीजलको झरनाबाट मोहित भएर शिव त्यहीँ बसी तपस्या गर्दा शैलमतेश्वर र पार्वती तपस्या गरेको स्थान शैलवतीअर्थात् सुन्दरीमाईका रुपमा अहिलेसम्म पनि प्रख्यात छन् । दुवैको नामबाट प्राचीनकालदेखि नै सुन्दरीजल नामकरण भएको स्थानीयवासीको विश्वास रहेको स्थानीयवासी सुशील सिम्खडा बताउछन ।

प्रत्येक वर्ष वैशाख १ गते वाग्द्वारमा स्नान गर्न आउने तारकेश्वरका विष्णुप्रसाद धिताल आफूमा आनन्द बढेको र वर्षमा एकपटक मात्र भए पनि वन जङ्गलको मार्गमा तीन घण्टा हिँड्दा स्वास्थ्यमा राम्रो भएको अनुभवले स्नान गर्न जाने गरेको बताउछन ।

वाग्द्वार क्षेत्र सेवा समितिका अध्यक्ष अरुण ठकुरी वाग्मतीको उद्गमस्थलमा स्नान गरी शिवपुरी डाँडामा रहेको ३५ मिटर अग्लो शत रुद्रेश्वर शिलामा पूजा गर्ने विधि रहेको बताउछन । दर्शनार्थीले यसपछि विष्णुद्वारमा स्नान गरेर विष्णुपादुकामा दर्शन गर्ने विधान छ । यसो गरेमा दर्शनार्थीको मनकामना पूरा हुने जनविश्वास छ ।

वाग्द्वार बूढानीलकण्ठ र सुन्दरीजल दुई ठाउँबाट जान सकिन्छ । बूढानीलकण्ठबाट तीन घण्टा र सुन्दरीजलबाट साढे तीनदेखि चार घण्टा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रमणीय यात्रा गरेपछि प्राकृतिक छटा र सौन्दर्यले भरिएको वाग्द्वार पुगिन्छ । वैशाख १ गते वाग्द्वार, सपनतीर्थ स्नान गरी भक्तपुरको बिस्केट जात्रा हेरेमा वर्षभर रोगव्याध नलाग्ने किम्वदन्ती समेत उपत्यकावासीमा प्रचलित रही आएको छ ।

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु