global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एशिया–प्यासिफिक अफ्थाल्मोलोजी सम्मेलनमा डा. बनर्जी र डा. केसी सम्मानित

एशिया–प्यासिफिक अफ्थाल्मोलोजी सम्मेलनमा डा. बनर्जी र डा. केसी सम्मानित

एशिया–प्यासिफिक अफ्थाल्मोलोजी सम्मेलनमा डा. बनर्जी र डा. केसी सम्मानित

हालै नयाँ दिल्लीमा सम्पन्न ४०औं एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी तथा ८३औं अल इन्डिया अफ्थाल्मोलोजिकल सोसाइटीको वार्षिक सम्मेलनमा नेपाली नेत्र विशेषज्ञहरू डा. चन्दन बनर्जी र डा. सल्मा केसीले प्रतिष्ठित सम्मानहरू प्राप्त गरेका छन् ।

नेपाल अफ्थाल्मिक सोसाइटीको सिफारिसमा डा. बनर्जीलाई एपिएपिओ विशिष्ट सेवा सम्मान र डा. केसीलाई एपिएपिओ अन्धोपन रोकथाममा विशिष्ट सेवा सम्मान प्रदान गरिएको हो ।

एपिएपिओ विशिष्ट सेवा सम्मान हरेक वर्ष आफ्ना देश तथा एशिया–प्यासिफिक क्षेत्रको नेत्र उपचार सेवामा विशिष्ट योगदान पुर्‍याउने नेत्र विशेषज्ञहरूलाई प्रदान गरिन्छ । यसअघि यो सम्मान डा. सन्दुक रुइत, डा. रीता गुरुङ, डा. अनु मानन्धर, डा. मीनु चौधरी, डा. लीलाराज पुरी, डा. सगुन नारायण जोशी, डा. सुरेशराज पन्त, डा. चेतराज पन्त, डा. रोहित साईजु, डा. सुमन थापा, डा. मोहन बज्राचार्यजस्ता विशिष्ट चिकित्सकहरूले प्राप्त गरिसकेका छन् ।

त्यसैगरी, एपिएपिओ अन्धोपन रोकथाममा विशिष्ट सेवा सम्मान एशिया–प्यासिफिक क्षेत्रमा अन्धोपन रोकथाममा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ । यसअघि नेपाल आँखा अस्पताल, बिपी कोइराला लायन्स केन्द्र जस्ता संस्थाहरूले यो सम्मान प्राप्त गरिसकेका छन् भने व्यक्तिगत रूपमा हुकुम प्रसाद पोखरेल, अनिल गोर्खाली, शैलेश कुमार मिश्र, बिमल कुमार पौडेल, युद्धधोज सापकोटाले पनि यो पुरस्कार पाइसकेका छन् । ती पुरस्कारहरूका लागि पनि नेपाल अफ्थाल्मिक सोसाइटीको सिफारिस गरेकाे थियाे ।

डा. चन्दन बनर्जी विगत २७ वर्षदेखि नेत्र विशेषज्ञको रूपमा कार्यरत छन् । हाल उनी वीरगञ्जस्थित आँखा तथा दाँत अस्पतालका मेडिकल डाइरेक्टर छन् भने नेशनल मेडिकल कलेज, वीरगञ्जमा एसोसिएट प्रोफेसरको रूपमा पनि कार्यरत छन् ।

प्रोफेसर डा. सल्मा केसी विगत २५ वर्षदेखि नेत्र सेवामा सक्रिय रहँदै आएकी छिन् । २०१२ मा लुम्बिनी आई इन्स्टिच्युटमा मेडिकल डाइरेक्टरको रूपमा कार्यभार सम्हालिसकेकी डा.केसी हाल श्रीकृष्ण नेत्रालयकी मेडिकल डाइरेक्टर हुन् ।

१५ हजारभन्दा बढी सहभागी रहेको यस सम्मेलनमा १,००० अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताहरूको सहभागिता रहेको थियो ।

नेपाल अफ्थाल्मिक सोसाइटीका महासचिव डा. तेजसु सिंह मल्लका अनुसार सम्मेलनमा तिलगङ्गा आँखा अस्पतालकी डा. पूर्णिमा राजकर्णिकर स्थापितले उपलब्धी सम्मान प्राप्त गरेकी थिइन् । सोही अस्पतालका डा. होम बहादुर गुरुङले प्रोफेसर यासुओ टानो यात्रा अनुदान सम्मान र डा. दीक्षा बिष्टले युवा नेत्र चिकित्सक यात्रा अनुदान सम्मान प्राप्त गर्न सफल भएकाे समेत उनले बताए ।

सम्मेलनमा नेत्र उपचार सेवाका नवीनतम प्रविधि, उदाउँदो प्रवृत्तिहरू, नविनतम अनुसन्धान तथा सहकार्यका अवसरहरूबारे व्यापक छलफल भएको थियो । सहभागीहरू कार्यशाला, नेटवर्किङ, तथा नवीनतम अनुसन्धानमा प्रत्यक्ष पहुँचबाट विशेष रूपमा लाभान्वित भएका थिए ।

 

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु