गृहपृष्ठ गुनासोको सही व्यवस्थापन सुशासनको महत्वपूर्ण पक्ष
गुनासोको सही व्यवस्थापन सुशासनको महत्वपूर्ण पक्ष
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आज पोखरामा आयोजित ‘हेलो सरकार पोर्टल सञ्चालन तथा हेले सरकार गुनासो व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय गोष्ठी’मा गुनासोको सही व्यवस्थापन सुशासनको महत्वपूर्ण पक्ष भएकामा जोड दिइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश र जिल्ला प्रशासन कार्यालय कास्कीको सहकार्यमा सञ्चालित कार्यक्रममा वक्ताहरूले सार्वजनिक सेवा प्रवाहमा गुनासो आउनु स्वभाविक भए पनि समयमा नै त्यसको व्यवस्थापन गर्न जरूरी रहेकामा जोड दिए ।
गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम बिष्टले सेवा प्रवाहका क्रममा आउने साना गुनासो पनि सम्बोधन नगर्दा त्यसले ठूलो अपजस ल्याउने बताए। सेवा प्रवाह गर्दा कर्मचारीले गुनासो नै नआउने गरी काम गर्नेतर्फ लक्षित हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले गुनासो आएमा पनि त्यसलाई प्राथमिकताका साथ सम्बोधन गर्ने गरी लाग्नुपर्ने बताए। गुनासोका नाममा उजुरीका लागि उजुरी गर्ने प्रवृत्ति भने गलत रहेको बिष्टको भनाइ थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सेवा प्रवाहका क्रममा आउने गुनासालाई समयमै सम्बोधन गर्नेतर्फ लाग्नुपर्ने बताए । एउटै प्रकृतिका गुनासा ठाउँठाउँबाट आउने क्रमलाई व्यवस्थित गर्दै एकै ठाउँबाट आउने व्यवस्था मिलाउनु आवश्यक रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव प्रेमशरण श्रेष्ठले हेलो सरकारलाई प्रभावकारी बनाउँदै जनगुनासालाई सही ढङ्गबाट समाधान गर्ने लक्ष्य राखिएको बताए । गुनासो व्यवस्थापनलाई कार्यसम्पादनसँग जोड्न आवश्यक रहेको बताउँदै उनले गुनासो व्यवस्थापनमा एउटै प्रणाली प्रयोग हुनुपर्ने बताए ।
कार्यक्रममा सोही कार्यालयका उपसचिव कलाकुमारी गैरे, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशका उपसचिव प्रविण ढकाललगायतले गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन भइरहेका प्रयासलगायत विषयमा धारणा राखेका थिए।
प्रकाशित समय : २१:४६ बजे




















