गृहपृष्ठ स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण पहिलो प्राथमिकताः अध्यक्ष ढकाल
स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण पहिलो प्राथमिकताः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथामिकता हुनु पर्ने बताएका छन् ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहआयोजना एवं सहयोगमा काठमाडौंमा शुरु भएको दुई दिने ५औं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटनका अवसरमा बोल्दै उनले रोजगारी सिर्जना र लगानीकर्ताहरुलाई आकर्षित गर्न राजनीतिक र नीतिगत स्थिरता आवश्यक रहेका बताए ।
अध्यक्ष ढकालले नेपालमा श्रम शक्तिको उपयोग गर्नका लागि सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवर्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित प्रयोग गर्नु पर्नेमा जोड दिए ।
नेपालको कूल रोजगारीको ८६ प्रतिशत बढि रोजगारी निजी क्षेत्रले सिर्जना गरेको जानकारी दिँदै उनले निजी क्षेत्रले कुनै उद्योग व्यवसायमा लगानी गर्दा त्यसबाट उसले मात्र फाइदा नलिई सरकार तथा स्थानीय बासिन्दालाई समेत फाइदा पुग्ने हुनाले विकास निर्माण,पूर्वाधार विकासमा सरकार,राजनीतिक दल तथा निजी क्षेत्रको एउटै धारणा बन्नु पर्ने बताए ।
मुलुकको सामाजिक र आर्थिक रुपान्तरणमा नीतिगत र कानुनी सुधारका लागि पृष्ठपोषण लिने तथा नीतिगत र कार्यक्रमगत सुधारका लागि सुझाव प्राप्त गर्न उद्देश्यका साथ आयोजना गरिएको ५औं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रोजगारी सिर्जनाको लागि उद्यमशीलता विकास गर्नु पर्नेमा जोड दिए । यसको लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर जान तयार रहेको बताए । सो अवसरमा प्रधानमन्त्री ओलीले आन्तरिक रोजगार प्रवर्धन दशक २०८१ तथा आन्तरिक रोजगार प्रवर्धन कार्यक्रम २०८१ को शुभारम्भ गरेका थिए ।
सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा लगायतले नेपालको श्रम बजार, चुनौती तथा रोजगारीका अवसरका बारेमा धारणा राखेका थिए ।
विभिन्न प्रदेशका प्रदेशका मुख्यमन्त्रीहरु नेपाल उद्योग वाणिज्य महासंघका, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, महिला उद्यमी महासंघ नेपाललगायत रोजगारदाता संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु तथा विकास नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनमा विभिन्न विषयमा सोमबार मंगलबार विभिन्न सेशनहरु सञ्चालन हुनेछन् ।
प्रकाशित समय : २१:३६ बजे




















