गृहपृष्ठ म्यान्मामा जनवरीसम्ममा चुनाव गर्ने जुन्टा प्रमुखको घोषणा
म्यान्मामा जनवरीसम्ममा चुनाव गर्ने जुन्टा प्रमुखको घोषणा
म्यान्माको सेनाप्रति बफादार सरकारका प्रमुखले सन् २०२१ मा सेनाले ‘कू’ गरेपछि युद्धग्रस्त देशमा पहिलो पटक डिसेम्बर वा अर्को बषैको जनवरीमा निर्वाचन हुने बताउनुभएको छ ।
“हामी ‘सन् २०२५ वा सन् २०२६ को जनवरीसम्म’ मा चुनाव गर्ने योजना बनाइरहेका छौँ,” म्यान्माको राष्ट्रिय पत्रिका ‘ग्लोबल न्यू लाइट अफ म्यान्मा’मा शनिबार प्रकाशित समाचारमा जुन्टा प्रमुख जनरल मिन आङ ह्लाइङलाई उद्धृत गर्दै उल्लेख गरिएको छ ।
शुक्रबार बेलारुसको राजकीय भ्रमणका क्रममा उहाँले ‘मतदान ‘स्वतन्त्र र निष्पक्ष’ हुने बताउँदै ५३ वटा राजनीतिक दलले भाग लिनका लागि ‘आफ्नो सूची बुझाएको’ बताए।
मिन्स्कमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको भेटमा उनले भने, “हामी बेलारुसबाट पनि अवलोकन टोलीलाई आमन्त्रण गर्दछौँ।”
सन् २०२० को चुनावमा ठूलो धाँधली भएको निराधार दाबी गर्दै नोबेल पुरस्कार विजेता आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी० ले जितेको निर्वाचित सत्तालाई सन् २०२१ मा म्यान्माको सेनाले आफ्नो नियन्त्रणमा लिई सेनाप्रति बफादार नेतृत्वलाई जिम्मेवारी दिएको थियो ।
त्यसपछि उसले असहमतिमाथि रक्तपातपूर्ण दमन सुरु गरेको थियो र देशको अधिकांश भूभागमा लडाईंले तहसनहस पारिरहेको छ । जुन्टा सरकारले नयाँ चुनावको योजनामा पटक–पटक ढिलाइ गरेको छ तर सरकारका आलोचकहरूले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका छन् ।
जातीय विद्रोही समूह र लोकतन्त्र समर्थक ‘पिपुल्स डिफेन्स फोर्सेज’बाट आफ्नो शासनको व्यापक विरोधलाई दबाउन जुन्टा सङ्घर्षरत छ ।
प्रकाशित समय : १८:४५ बजे


















