गृहपृष्ठ युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसका राष्ट्रपतिको प्रस्ताव
युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसका राष्ट्रपतिको प्रस्ताव
बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले बुधबार प्रकाशित एक अन्तर्वार्तामा अमेरिकी अधिकारीहरू समावेश हुनसक्ने रूस–युक्रेन शान्ति वार्ताको आयोजना गर्ने प्रस्ताव गरेका छन् ।
‘ट्रम्पलाई भन्नुहोस् कि म (रूसी राष्ट्रपति भ्लादिमिर) पुटिन र (युक्रेनी राष्ट्रपति भोलोदिमर) जेलेन्स्कीसँग यहाँ आउने अपेक्षा गर्छु”, लुकासेन्कोले अमेरिकी ब्लगर मारियो नौफलसँगको भिडियो अन्तर्वार्तामा प्रस्ताव राखेका थिए ।
लुकासेन्को पुटिनका निकट सहयोगी हुन् र उनको देश युक्रेनमा रुसको सैन्य कारबाहीलाई समर्थन गरेको र विपक्षीहरू विरुद्धको सरकारी कारबाहीलाई लिएर अमेरिका र युरोपीय सङ्घ (इयु) को प्रतिबन्धमा छ । रुसले सन् २०२२ मा युक्रेनमा केही सेना पठाउन बेलारुसको क्षेत्र प्रयोग गरेको थियो ।
तर ७० वर्षीय राष्ट्रपतिले भने, ‘यदि तपाईं सहमति गर्न चाहनुहुन्छ भने हामी बस्नेछौँ र शान्त रूपमा सहमति गर्नेछौँ ।’
युक्रेनी समाजको ठूलो हिस्सा जेलेन्स्कीसँग रहेको भन्दै लुकासेन्कोले जेलेन्स्कीसँग सहमति हुनुपर्ने बताए।
‘बेलारुस सीमा र किएभबीच केवल दुई सय किलोमिटरको दूरी छ । विमानमा आधा घण्टामा । आउनुहोस्’, उनले फेब्रुअरी २७ मा रेकर्ड गरिएको अन्तर्वार्तामा घोषणा गरे ।
लुकासेन्कोले रूससँग वार्ता गर्न र तीन वर्षदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्न ट्रम्पका प्रयासहरूको प्रशंसा गरे।
प्रकाशित समय : १४:५९ बजे




















