गृहपृष्ठ आठ गोलको वर्षा, तर भएन हारजित
आठ गोलको वर्षा, तर भएन हारजित
स्पेनिस फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेलमा गोलको वर्षा भएको छ ।
स्पेनिस कोपा डेल रेअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बुधबार बिहान बार्सिलोना र एट्लेटिको मैदानमा उत्रिँदा समग्रमा ८ गोल भयो । खेलमा गोलको वर्षा भएपनि यी दुई टोलीबीच हारजित भने भएन । खेल ४–४ गोलको बराबरीमा टुङ्गियो ।
ओलिम्पिक लुइस कम्पनिस रङ्गशालामा घरेलु टोली बार्सिलोनाका लागि पेड्री, पाउ कुब्रासी, इनिगो मार्टिनेज र रोबार्ट लेवान्डोस्कीले गोल गरे । यता एट्लेटिकोका लागि जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्कोस लोरेन्टे र एलेक्जेन्डर सोर्लोथले गोल गरे ।
खेलको पहिलो मिनेटमै अल्भारेजको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै ग्रिजम्यानले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
तर पेड्रीले १९ र कुब्रासीले २१औं मिनेटमा गोल गर्दा बार्सिलोनाले खेल २–२ को बराबरीमा आयो । यस्तै खेलको ४१औं मिनेटमा मार्टिनेजले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–२ को अग्रता लियो ।
लेवान्डोस्कीले ७४औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४–२ ले अगाडि बढाए । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने सङ्केत दिए ।
अब दोस्रो लेग एट्लेटिकको घरेलु मैदान मेट्रोपोलिटानोमा हुनेछ ।
प्रकाशित समय : १०:५९ बजे


















