global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा कलेजले सञ्चालन गरेको स्वास्थ्य सेवाको प्रशंसा

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा कलेजले सञ्चालन गरेको स्वास्थ्य सेवाको प्रशंसा

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा कलेजले सञ्चालन गरेको स्वास्थ्य सेवाको प्रशंसा

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा नेपाल मेडिकल कलेजले सञ्चालन गरेका सेवाहरूको प्रशंसा नेपाल मेडिकल कलेजले आम सर्वसाधारणलाई सहज र सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गरेका छन । मंगलबार कलेजको रजत जयन्ती समारोह तथा नवनिर्मित डेण्टल भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल सरकारका विभिन्न निकायबाट प्रदान गरिएका स्वास्थ्य बीमा कार्यक्रमसँगै गोकर्णेश्वर नगरपालिकासँग सहकार्य गरेर कलेजले प्रदान गर्दै आइरहेका स्वास्थ्य कार्यक्रमबाट गरिब, विपन्न तथा आम सर्वसाधारण नागरिकहरु लाभान्वित भएकोमा प्रशंसा गरेका हुन ।

‘नेपाल मेडिकल कलेजले देशभरका गरिब, विपन्न नागरिकको स्वास्थ्य सेवामा पुर्याएको योगदानको म प्रशंसा गर्दछु । सरकारका निकायहरुले सञ्चालन गरेका सबै सुविधाहरु यहाँ रहेछ । जनतालाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिएकोमा कलेजलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ उनले स्वास्थ्य सेवासँगै मुलुकको लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा पनि कलेजले महत्वपूर्ण योगदान पुर्याएकोमा प्रशंसा गर्दै सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न प्रतिबद्ध रहेको बताए ।

यस्तै, उनले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको भन्दै पछिल्लो समय मुलुकमा धेरै कामहरु भएको जिकीर गरे । आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा असाधारण परिवर्तनका काम गरेको तर त्यसपछि बनेका सरकारहरूले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको उनको भनाई छ । ‘म ३ वर्ष प्रधानमन्त्री हुँदा देशमा असाधारण काम भएका छन् । स्वास्थ्य क्षेत्रका विकासका लागि एकै पटक ३९६ आधारभुत अस्पतालको शिलान्यास गरेको थिए । तर, त्यसपछिका सरकारले ती अस्पतालहरु बनाउने कार्य नै रोकिदिए ।’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले १५ मंसिर २०७७ मा बालुवाटारबाट स्वीच थिचेर ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेका थिए । उनले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरू अघि बढाउनु रहेको बताए। देशमा सुशासन र विकासको गति तीव्र बनाउन सरकारले काम गरिरहेको उनको भनाई छ ।

‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ । केही भएको छ । म दावाका साथ भन्छु तीन वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो । त्यो प्रगतिलाई बिचको तीन वर्षले धान्न सकेन’ प्रधानमन्त्रीले भने । यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि कलेजले दक्ष जनशक्ति उत्पादन र जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न पुर्याएको योगदानको प्रशंसा गरे।

नेपालको चिकित्सा क्षेत्रको वृहत्तर विकास र विस्तारमा निजी क्षेत्रले महत्वपूर्ण योगदानको दिएको भन्दै सरकार निजी क्षेत्रसँग आवश्यक सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने बताए । नागरिकलाई गुणस्तरीय स्वास्थ्य प्रदान गर्न सरकारले ल्याएका बीमा कार्यक्रमहरुलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सरकार लागि परेकोमा त्यसको कार्यान्वयनमा नेपाल मेडिकल कलेजले समन्वयकारी भूमिका निर्वाह गर्नेमा आफू विस्वस्त रहेको बताए ।

मन्त्री पौडेलले भने,‘उपचारात्मक क्षेत्रमा कसरी नागरिकलाई बढी सुविधा दिन सकिन्छ, त्यसमा सरकार गम्भीर छ, सरकारको नेतृत्व गर्ने सम्माननीय प्रधानमन्त्रीज्यु गम्भीर छन । हामी कसरी नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ, त्यसमा चिन्तन, बहस गरिरहेका छौँ, पैरवी गरिरहेका छौँ ,यसले सकारात्मक नतिजा ल्याउँछ। तपाईहरुको पनि साथ र सहकार्यको अपेक्षा गर्दछौं ।’

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले समेत नेपाल मेडिकल कलेजले स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै कलेजको शैक्षिक कार्यक्रमहरुमा सिट संख्या थप्नुपर्ने, विदेशी विद्यार्थीहरु नेपालमा पढ्न आउने वातावरण बनाउनु पर्नेमा जोड दिए।

कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले कलेजको विगत, बर्तमान अवस्थाका बारेमा बोल्दै सरकार एक्लैले जनतालाई स्वास्थ्य सेवा दिन नसक्ने बताए । स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्ने र स्वास्थ्उ सेवा प्रदान गर्ने सवालमा निजी क्षेत्रले ठूलो योगदान गरेको उनको दावी छ ।

तत्कालिन अवस्थामा अधिकांश चिकित्सा पेशामा संलग्न रहेका व्यक्तित्वहरुको अठोटबाट चिकित्सा शिक्षा जस्तो तत्कालिन अवस्थामा नौलो व्यवसायिक काममा दुर्लभ आर्थिक श्रोत जुटाउने जमर्को गरी ‘‘नेपाल र नेपालीका लागि नेपालीकै लगानी’’ भन्ने मूल नाराका साथ २०५६ सालमा चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका विषयलाई एक साथ अगाडी बढाउन नेपाल मेडिकल कलेजको स्थापना भएको उनले जानकारी दिए ।

उनले हालसम्म एमविविएसमा २ हजार २ सय ६२ जना, विडिएसमा ३ सय ३५ जना, विएस्सी नर्सिङ तर्फ २ सय जना, एमडि-एमएसमा ३ सय १७ जना तथा एमएस्सी नर्सिङ, डिएम नेफ्रोलोजी, एमडिएसमा गरी कुल ३ हजार १ सय ५० जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएको जनाउँदा कलेजबाट उत्पादित दक्ष जनशक्तिले राष्ट्रको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको तथा विदेशमा पनि अमेरिका, युरोप, अष्ट्रेलिया लगायत विश्वका विभिन्न भूभागमा सफलतापूर्वक सेवारत रहेको जिकीर गरे।

कलेजले साधारण देखि उच्चस्तर तथा विशिष्टीकृत स्वास्थ्य सेवाहरु प्रदान गरिरहेको, नेपाल सरकारको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा, कर्मचारी सञ्चय कोषको स्वास्थ्य बीमा तथा गोकर्णेश्वर नगरपालिका स्थायी बासिन्दाका लागि सहुलियतपूर्ण स्वास्थ्य सेवा र विपन्न नागरिक उपचार कार्यक्रम सञ्चालन गरिरहेको छ । यस्तैगरी, निःशुल्क क्यान्सर उपचार सेवा तथा अत्याधिक समस्याका रुपमा देखिएको मिर्गौला रोगको उपचारको लागि सरकारले प्रदान गरिरहेको हेमोडायलाइसिस सेवा समेत सुचारु छ ।

प्रा।डा। अन्सारीले निजी क्षेत्रले सरकारबाट दिगो स्वास्थ्य शिक्षा नीति र कार्यक्रमको अपेक्षा गरेको बताउँदै स्वदेशमै स्वास्थ्य सम्बन्धी सबै किसिमको उपचारको व्यवस्था साथै, विशिष्टीकृत तहसम्म चिकित्सा विषयका सबै विधामा स्वदेशमै अध्ययन अध्यापन गर्न गराउन सक्ने गुणात्मक र संख्यात्मक व्यवस्था हुनुपर्ने बताए ।

कार्यक्रममा कलेजका संस्थापकहरुलाई कदरपत्रद्वारा सम्मान समेत गरिएको थियो भने, सोही अवसरमा रजत जयन्ती स्तम्भको अनावरण, स्मारिकाको प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीद्वारा लोकापर्ण गरिएको थियो ।

प्रकाशित समय : ०९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु