गृहपृष्ठ कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जामा राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था
कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जामा राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था
नेपाल राष्ट्र बैंकले कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जाबारे नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन परिमार्जन/थप गरेको हो ।
उक्त निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरूले कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जालाई अर्को वित्तीय संस्था मार्फत व्यवस्थापन गर्न एक आपसमा खरिद /बिक्री गर्न सक्नेछन् । सुरुवातमा कर्जा प्रवाह गर्ने संस्थाले नै ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गर्ने गरी गरिएको खरिद/बिक्रीमा ग्राहकको सहमति आवश्यक पर्ने छैन ।
यसरी पुनः खरिद व्यवस्था अनुसार कर्जा खरिद बिक्री गर्दा सो कर्जा बराबरको रकम अनिवार्य रूपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेख जनाउनुपर्ने व्यवस्था गरिएको छ । उक्त खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले मात्र तोकिएको क्षेत्रमा प्रवाहित कर्जाको रूपमा गणना गर्न पाउने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।
प्रकाशित समय : १९:१७ बजे



















