गृहपृष्ठ माओवादीले फागुन १२ मा तराई–मधेश जनजागरण अभियान सुरु गर्दै
माओवादीले फागुन १२ मा तराई–मधेश जनजागरण अभियान सुरु गर्दै
प्रमुख प्रतिपक्षी दल माओवादीले फागुन १२ देखि ‘जनतासँग माओवादी, तराई–मधेश जनजागरण अभियान’ सुरु गर्दैछ । अभियान झापाको कचनकवलबाट सुरु हुनेछ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान सुरु गर्नेछन् । माओवादीका पदाधिकारी सबै तीन दिनसम्म कोशी प्रदेशका तीन जिल्लामा खटिने भएका छन् । माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु हुने हुलाकी राजमार्ग केन्द्रीत अभियान कञ्चनपुरमा पुगेर समापन हुने जानकारी दिए ।
हुलाकी राजमार्गले छुने कोशी प्रदेशका तीन जिल्ला (झापा, मोरङ र सुनसरी) मा अभियान सञ्चालन हुनेछ । उद्घाटनको दिन बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्नेछ ।
फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना हुनेछ । फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गरी समापन हुनेछ ।
जागरण अभियान फागुन १५ देखि २२ गतेसम्म मधेश प्रदेशमा हुनेछ । फागुन १५ गते मधेस प्रदेशको सप्तरी, १६ गते सिरहा, १७ गते धनुषा, १८ गते महोत्तरी, १९ गते सर्लाही, २० गते रौतहट, २१ गते बारा र २२ गते पर्सामा भेटघाट र अन्तरक्रिया हुने तय भएको छ ।
फागुन २३ गतेबाट बागमती प्रदेशमा सुरु हुनेछ । २३ गते चितवन जिल्लास्थित भरतपुरमा सभा तथा अन्तक्र्रिया गर्ने तयारी छ । फागुन २४ गतेबाट लुम्बिनी प्रदेशको नवलपरासीबाट अभियान सञ्चालन हुने गरी तयारी भइरहेको छ । अभियान चैत २ गते सुदूरपश्चिमको कञ्चनपुर पुगेर समापन हुनेछ ।
लुम्बिनी प्रदेशमा फागुन २९ गतेसम्म अभियान टोली रहेमा चैत १ गते कैलाली र चैत २ गते कञ्चनपुरमा समापन हुने छ । हुलाकी मार्गले गण्डकी प्रदेश र कर्णाली प्रदेशका जिल्लालाई छोएको छैन ।
प्रकाशित समय : ११:४६ बजे



















