गृहपृष्ठ नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम
नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम
नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। कतारको र्याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैंकका विभिन्न विभागका प्रतिनिधिले रेमिट्यान्स, निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा लगानीका साथै वित्तीय सचेतना, वित्तीय सेवाको उपयोग, बचत र लगानीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरेका थिए। कार्यक्रममा विदेशबाट फर्किएका नेपाली कामदारहरूको उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ को बारेमा जनकारी दिइएको थियो।
त्यस अवसरमा कतारका लागि नेपाली राजदूत रामेशचन्द्र पौडेलले औपचारिक माध्यमबाट रकम नेपाल पठाउँदा नेपालको सम्रग अर्थतन्त्रलाई फाइदा पुग्ने भएकाले पैसा पठाउँदा औपचारिक माध्यमको प्रयोग गर्न आग्रह गरे। राजदुत पौडेलले कार्यक्रम सम्बोधन गर्दै भने, “आर्थिक सुरक्षाको लागि प्रवासी नेपालीहरूले आफ्नो रेमिट्यान्स सुरक्षित र व्यवस्थित रूपमा औपचारिक बैंकिङ प्रणालीमार्फत पठाउनुपर्छ । यसले तपाईंहरूको मेहनतको सही संरक्षण गर्ने मात्र होइन, नेपालकै आर्थिक स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याउनेछ।“
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल र कतार दुवै देशको अर्थतन्त्रको विकासमा नेपाली श्रमिकहरुको महत्वपूर्ण योगदान रहेकामा जोड दिए । कतारमा भारतीयपछि नेपाली श्रमिकको संख्या सबैभन्दा धेरै रहेको उल्लेख गर्दै उनले आफूहरु यहाँ आउनुको उद्देश्य डिजिटल सेवाबारे जानकारी गराउनु रहेको बताए । जसमा कतारको मोबाइल प्रयोग गरी अनलाइनमार्फत बैंकमा खाता खोल्न, कर्जाका लागि आवेदन दिन तथा बैंकअन्तर्गतका अन्य कम्पनीमार्फत एसआईपी, म्युचुअल फण्ड र शेयर बजारमा लगानी गर्न सकिने उनको भनाइ थियो।
प्रकाशित समय : १४:४७ बजे


















