global ime bank Long Banner Ad

गृहपृष्ठ साँखु क्षेत्रका प्राचीन सम्पदाको प्रचारका लागि ‘शङ्खरापुर सक्व महोत्सव’

साँखु क्षेत्रका प्राचीन सम्पदाको प्रचारका लागि ‘शङ्खरापुर सक्व महोत्सव’

साँखु क्षेत्रका प्राचीन सम्पदाको प्रचारका लागि ‘शङ्खरापुर सक्व महोत्सव’

राजधानीको उत्तरपूर्वमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण शङ्खरापुर नगर क्षेत्रका सम्पदाको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिने भएको छ ।

शङ्खरापुर नगरपालिकाको आयोजनामा यही माघ १६ देखि १९ गतेसम्म महोत्सव गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले राससलाई जानकारी दिए। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना साँखुस्थित शालीनदीमा माधवनारायण मेला लाग्ने गर्छ । बर्तालुले माधवनारायणसहित श्रीस्वस्थानी परमेश्वरी देवीको पूजाआराधना गर्ने गर्छन् । यही मेलामा शालीनदी आउने लाखौँ धार्मिक पर्यटकलाई साँखु क्षेत्रको प्राचीन बस्ती र सम्पदाको अवलोकन गराउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए ।

साँखु काठमाडौँ उपत्यकाकै सबैभन्दा प्राचीन बस्ती मानिन्छ । आजभन्दा तीन हजार तीन सय वर्षअघि राजा शङ्खदेवले शङ्ख आकारमा यो बस्ती बसालेको विश्वास गरिन्छ । साँखुको प्राचीन बस्तीमा आठ टोल, पाँचवटा ढोकासहितको बस्ती वास्तुसम्मत रुपमा राजा शङ्खदेवले निर्माण गरेको बताइन्छ । त्यही बस्तीको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको हो । करिब एक हजार घरको यो बस्तीको संस्कृति, वेशभूषा, पहिचान, मौलिकता झल्काउने गरी महोत्सव गरिनेछ ।

प्राचीन बस्तीको वस्तु तथा सेवा, कला, संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको महोत्सव लाखौँले अवलोकन गर्ने अनुमान गरिएको छ । माघ १६ गते मौलिक झाँकीसहित नगर परिक्रमा गरी महोत्सव सुरुआतसहित उद्घाटन गरिनेछ । महोत्सवमा तीनवटा मञ्च बनाइने कार्यक्रम संयोजकसमेत रहेका वडाध्यक्ष श्रेष्ठले बताए । महोत्सवका चारै दिन कलाकारले लोकदोहोरीलगायत सांस्कृतिक कार्यक्रम गर्नेछन् । महोत्सवमा साहित्यिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रदर्शनी, स्थानीय नेवारी खानाको प्रदर्शनी, आठवटै टोलमा मौलिक नेवारी खानाका कक्षसमेत राखिनेछ ।

महोत्सवमा हस्त, काष्ठ र प्रस्तरकलाका प्रदर्शनी गरिनेछ । साँखु क्षेत्रका परम्परागत सामग्रीसहितको कला प्रदर्शनी पनि गरिनेछ । माघ १७ गते विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । महोत्सवमा चीनको ल्हासा जाने प्राचीन पैदल मार्ग साँखुबाटै रहेकाले त्यससम्बन्धी प्रदर्शनी पनि गरिनेछ । साँखुको शिरमा रहेकी देवी बज्रयोगिनीको उत्पत्तिका विषयमा चित्रद्वारा जानकारीमूलक प्रदर्शनी पनि राखिने भएको छ ।

महोत्सव सम्पन्न गर्न नगरप्रमुख रमेश नापितको संयोजकत्वमा सबै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरू सदस्य रहनेगरी २३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । नगर प्रवक्ता एवं ६ नं वडाका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा कार्यक्रम संयोजन समिति पनि गठन गरिएको छ ।

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु