बागमती बगरमा तरुल उत्पादन गर्दै किसान
वि.सं.२०८१ पुस १२ शुक्रवार १८:३६
shares

सर्लाहीको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरूल खन्न भ्याइनभ्याइ छ । उहाँले बागमती बगरमा पाँच कट्ठा खेतमा तरूल लगाएका छन ।
चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाइने भएकाले पुसको तेस्रो सातासम्म तरूल बेचिसक्ने उहाँको योजना छ । “तरूलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ”, उनले भने ‘‘त्यसकारण पुस २५र२६ सम्म बेचिसक्ने योजना छ ।” तरूल स्वस्थ्यका दृष्टिले चिसो मौसममा उपयोगी मानिने भएकाले यसबेला मूल्य बढ्ने गरेको छ ।
दलबहादुरझैँ यहाँका किसानहरुलाई माघेसङ्क्रान्ति नजिकिएसँगै तरूल खन्न भ्याइनभ्याइ छ । बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरूल खेती गर्ने गरेका छन् । बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरूल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ । “बगरको खेती सुन जस्तै बनेको छ”, उनले भने, “तरूल उत्पादनबाट मनग्य आम्दनी हुन्छ ।”
तरूलखेती गरेका बागमती नगरपालिका–४ जिराएतका किसान विमल खड्काले तरूलको उत्पादन राम्रो हुँदा अन्य बालीभन्दा धेरै आम्दानी हुने गरेको बताए । खड्काले पनि एक बिघामा तरूल लगाएका छन् ।
यहाँका किसानले आकाशे र पत्ताले गरी दुई जातको तरूल उत्पादन गर्ने गरेका छन् । आकाशे अर्थात् सेतो तरूल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती–४, जिरायतका तरूल व्यापारी राम दरेस महतोले बताए । अर्को पत्ताले अर्थात् रातो जातको तरूल भने, उत्पादन कम हुने, खान स्वादिलो हुने भएकाले मूल्यसमेत महङ्गो उनको भनाइ छ ।
यहाँका किसानले प्रतिबिघा ८० देखि एक सय २० क्विन्टलसम्म तरूल फलाउने गरेका छन् । यस वर्ष छठको समयमा तरूल प्रतिकिलो एक सय २० रूपैयाँसम्ममा बिक्री भएको थियो । हाल बजार मूल्य प्रति किलो ५५ देखि ६० रूपैयाँ रहेको तरूल व्यापारी डम्बरबहादुर खड्काले बताए। यस वर्ष व्यापारी खड्का २० बिघाको तरूल बजार लैजाने तयारीमा छन् ।
उनले आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरूल लगाएका छन् । जग्गा भाडामा लिँदा वर्षको प्रतिबिघा ५० देखि ६० हजार रूपैयाँसम्म तिर्नुपर्ने उनले बताए । तरूलखेती गर्दा प्रतिकट्ठा बीउ, मल खाद, कामदार गरी आठ हजारसम्म खर्च हुने उनको भनाइ छ । तरूलखेतीबाट किसानले प्रतिकट्ठा ३० देखि ४० हजारसम्म आम्दानी गर्ने गरेका छन् ।
बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि तीन सय बिघा क्षेत्रफलमा तरूलखेती हुँदै आएको छ । सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरूल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिक बताउँछन् । त्यसकारण बागमती नदी उकास जग्गा तरूल उत्पादनका लागि निकै उपयोगी बनेको छ ।
























