गृहपृष्ठ प्रदेश १ मा ४६ को नमूना संकलन, ३० को नेगेटिभ
प्रदेश १ मा ४६ को नमूना संकलन, ३० को नेगेटिभ
प्रदेश १ मा मंगलबासम्म कोभिड–१९ को आशंकामा ४६ जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ । दश महिलासहित ४६ को स्वाब नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए ।
संकलन गरिएका नमूनामा झापाबाट पाँच, मोरङबाट सात, सुनसरीबाट २५, धनकुटाबाट एक, तेह्रथुमबाट दुई, सोलुखुम्बुबाट दुई, उदयपुरबाट एक र पाँचथरबाट तीन जना रहेका छन् । संकलित नमूनामध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको र १६ को रिपोेर्ट आउन बाँकी रहेको प्रवक्ता डा. मेहताले बताए ।
प्रदेशमा मंगलबारसम्म चार महिलासहित सात जना आइसोलेसनमा भर्ना भएका छन् । भर्ना भएकामध्ये सोलुखुम्बुमा एक, उदयपुरमा दुई, पाँचथरमा तीन र ताप्लेजुङमा एक जना रहेको डा. मेहताले बताए । प्रदेशमा कोभिड–१९ बाट संक्रमितको उपचारका लागि ३५ अस्पतालमा ३६१ वटा आइसोलेसन श्यया तयारी अवस्थामा रहेका छन् ।
सामाजिक विकास मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई कोरोना नियन्त्रणसम्बन्धी विभिन्न स्वास्थ्य सामाग्रीहरु मङ्गलबार वितरण गरेको छ । मन्त्रालयले व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) २९७ थान, आईआर थर्मामिटर १६ थान, सर्जिकल मास्क २२ हजार १५० थान, ग्लोब्स १८ हजार ५२६ थान, ह्याण्ड सेनिटाइजर ८१८ थान र पीपीइ गाउन ३५ वटा वितरण गरेको प्रवक्ता डा मेहताले बताए ।
यसैबीच प्रदेश नं १ का स्वास्थ्य संस्थाहरुले ‘फिबर क्लिनिक’ बन्द गरेको भन्दै अविलम्ब सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका अन्य सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि सञ्चालन गर्न निर्देशन दिएको हो ।
प्रकाशित समय : १४:२४ बजे


















