गृहपृष्ठ इलन मस्कको सम्पत्ति चार सय अर्ब डलर नाघ्यो
इलन मस्कको सम्पत्ति चार सय अर्ब डलर नाघ्यो
टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कको सम्पत्ति ४ सय अर्ब अमेरिकी डलर नाघेको छ । योसँगै मस्कले नयाँ कीर्तिमान बनाएको ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सले जनाएको छ ।
इलन मस्कको सम्पत्तिमा यो वृद्धि स्पेसएक्स र त्यसका लगानीकर्ताबीचको सम्झौतापछि भएको ब्लूमबर्गले जनाएको छ । सम्झौताअनुसार करिब १ अर्ब २५ करोड डलर मूल्य बराबरका शेयर खरीद गरिएको भएको थियो । यसले कम्पनीको कुल मूल्य लगभग ३५० अर्ब डलर पुर्याएको छ ।
ब्लूमबर्गका अनुसार यो लेनदेनले मस्कको व्यक्तिगत सम्पत्ति करिब ५० अर्ब डलरले वृद्धि भइ ४ सय ४० अर्ब डलरसम्म पुर्याएको छ । इलन मस्कको सम्पत्ति मुख्यतः टेस्ला कम्पनीको शेयर मूल्यमा र स्पेसएक्सको बजार मूल्यांकनमा निर्भर छ ।
अमेरिकामा गत महिना भएको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भएसँगै टेस्ला र स्पेसएक्सको बजार मूल्यमा उल्लेखनीय वृद्धि भएको थियो । चुनावी नतिजापछि टेस्लाको शेयर मूल्य करिब ६५ प्रतिशतले बढेको थियो । मस्क ट्रम्पका प्रमुख राजनीतिक दाता र समर्थक छन् ।
प्रकाशित समय : १४:३४ बजे


















