गृहपृष्ठ कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी कृषि प्रवर्द्धनमा लाग्नुपर्छ : मुख्यमन्त्री लामा
कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी कृषि प्रवर्द्धनमा लाग्नुपर्छ : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी कृषि प्रवर्द्धनमा लाग्नुपर्ने बताएको छ ।
आज साँझ सूर्यविनायक नगरपालिका–३ बालकोटमा आयोजना गरेको १५ दिने ‘प्रथम सूर्यविनायक कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१’ को उद्घाटन गर्दै यस्तो बताएको हो ।
भक्तपुर ऐतिहासिक, सांस्कृतिक र सम्पदाको धरोहर मात्रै नभई कृषिको भण्डारण पनि भएको बताउदै भक्तपुरबाट उत्पादित हरिया तरकारीलगायत कृषि उत्पादनले काठमाडौँमा ठूलो पहिचान बनाएको बताए।
देश आयातमुखी भएको भन्दै उहाँले कृषि उत्पादनमा निर्यातमुखी बनाउन सके मात्रै देश र जनताको आर्थिक विकासमा फड्को मार्ने बताए । मुख्यमन्त्री लामाले मेलाबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, उत्पादनको प्रदर्शनी र बिक्रीले आर्थिक परिचालनमा टेवा पुग्ने बताए ।
मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले यस्ता मेलाबाटै प्रदेशका उत्पादनहरूको प्रचारप्रसार गर्न लक्ष्य लिएका बताउँदै यस प्रकारको मेलालाई सरकारले साथ र सहयोग दिने बताए । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले आर्थिक उन्नति र पर्यटन विकासमा मेला कोशेढुङ्गा सावित हुने बताए ।
बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले मेलाले सस्तोमा विभिन्न सामान खरिद गर्न र स्थानीय उत्पादनको बिक्री वितरण एवं बजारीकरणमा टेवा पुग्ने बताए । मेलामा घरायसी दैनिक उपभोग्य सामान, लत्ताकपडा, कृषि उत्पादनलगायत विभिन्न सामानका ७० वटा स्टल रहेको र मेला मङ्सिर २२ गतेसम्म सञ्चालन हुने संयोजक संगम लामाले जानकारी दिए ।
कार्यक्रममा सभापति नवराज ढुङ्गानाले प्रवेश निःशुल्क गरिएको मेलामा बिभिन्न सामानको प्रर्दशनी गर्नुका साथै विभिन्न लोकप्रिय एवं ख्याति प्राप्त कलाकारको साङ्गीतिक प्रस्तुतीहरू रहेको बताए।
प्रकाशित समय : २३:०८ बजे


















