गृहपृष्ठ स्टाइलिस लुकमा आयो रोयल इनफिल्डको नयाँ बाइक
स्टाइलिस लुकमा आयो रोयल इनफिल्डको नयाँ बाइक
भारतको अग्रणी दुईपांग्रे सवारी उत्पादक कम्पनी रोयल इनफिल्डले आफ्नो बहुप्रतिक्षित बाइक गोआन क्लासिक ३५० सार्वजनिक गरेको छ। यो एउटा बाबर स्टाइल बाइक हो। जुन कम्पनीको सबैभन्दा धेरै बिक्री हुने मोडल क्लासिक ३५० मा आधारित छ। तर, यो बाइकमा धेरै परिवर्तन गरिएको छ। जसले यसलाई क्लासिकभन्दा पूर्ण रुपमा फरक बनाएको छ।
हाल कम्पनीले नयाँ गोआन क्लासिक ३५० मात्र प्रदर्शन गरेको छ। यसलाई आधिकारिक रुपमा नोभेम्बर २३ मा बिक्रीका लागि लन्च गरिनेछ। यसको मूल्य पनि सोही दिन घोषणा गरिनेछ। यो मोटरसाइकल कुल चार डुअल टोन कलरमा उपलब्ध हुनेछ। जसमा रेभ रेड, ट्रिप टिल, पर्पल हेज र शक ब्ल्याक कलर भेरियन्ट समावेश छन्।
गोआन क्लासिक ३५० नियमित क्लासिक ३५० मा आधारित छ। तर, बाबर स्ट्यान्स र अपिल कायम राख्न डिजाइन र डिभाइसहरुमा धेरै परिवर्तन गरिएको छ। क्लासिक जस्तै यो बाइक पनि डबल डाउन ट्युब चेसिसमा बनाइएको छ। बाइकमा सबफ्रेम छैन तर यसको सट्टामा हटाउन सकिने पिलियन सीटको साथ बाबर शैलीको ओभरह्याङ सिट छ।
बाइकको अगाडि एलईडी हेडल्याम्प र क्लासिक ३५० जस्तै सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल छ। तर, बाइकको ह्यान्डलबार क्लासिकभन्दा विल्कुलै फरक छ। यसमा एपीई ह्यान्डलबार दिइएको छ। यसबाहेक फर्वार्ड–सेट फुटपेगहरु र ७५० एमएमको तल्लो सिटको उचाइले यो बाइकलाई उपयुक्त बाबर शैली दिन्छ।
हालको नियमित क्लासिक ३५० मोडलमा कम्पनीले अगाडि १९ इन्च र पछाडि १८ इन्च पांग्रा दिएको छ। जबकि यो नयाँ गोआन क्लासिकको अगाडि १९ इन्च र पछाडि १६ इन्च पांग्राहरु छन्। जसका कारण बाइकको पछाडिको भाग निकै कम देखिन्छ। तर पांग्राहरुको यो व्यवस्थापन बाबर शैलीका लागि विल्कुल सही छ।
यसको टायरमा सेतो भित्ता कलर प्रयोग गरिएको छ। यसबाहेक स्ल्यास–कट साइलेन्सरले बाइकको साइड प्रोफाइलमा पनि सुधार गर्दछ। सेतो रङको टायर र स्टाइलिस सिटले यस बाइकको स्पोर्टीनेसलाई अझ बढाएको छ। रोयल इन्फिल्डले गोआनलाई ट्युबलेस तार–स्पोक ह्विलहरु प्रदान गरेको छ।
प्रकाशित समय : १२:५९ बजे