गृहपृष्ठ विकास बैंकहरुद्वारा ४ खर्ब ७० अर्ब बढी कर्जा प्रवाह,कुन बैंकले कति प्रवाह गरे कर्जा ?
विकास बैंकहरुद्वारा ४ खर्ब ७० अर्ब बढी कर्जा प्रवाह,कुन बैंकले कति प्रवाह गरे कर्जा ?
पहिलो त्रैमाससम्म १६ विकास बैंकहरूले ४ खर्ब ७० अर्ब ३८ करोड ६९ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यो गत वर्षको सोही अवधिसम्मको तुलनामा १ दशमलव १२ प्रतिशत बढी हो । गत वर्ष यस अवधिसम्म यी बैंकहरूले आफ्ना ग्राहकहरूमा ४ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको तथ्याङ्क सार्वजनिक गरेका छन् ।
पहिलो त्रैमाससम्ममा सर्वाधिक कर्जा प्रवाह गर्ने (रकमका आधारमा)मा मुक्तिनाथ विकास बैंक छ । गत वर्षको पहिलो त्रैमाससम्ममा ९२ अर्ब १७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको मुक्तिनाथ विकास बैंकले यस वर्ष सोही अवधिसम्म ९४ अर्ब ७२ करोड ९ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।
मुक्तिनाथ विकास बैंकले गत वर्षभन्दा यस वर्ष २ दशमलव ९६ प्रतिशतले कर्जा प्रवाह बढाएको छ । मुक्तिनाथ विकास बैंकपछि गरिमा विकास बैंकले बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म ६६ अर्ब १ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको गरिमा विकास बैंकले यस वर्षको सोही अवधिसम्म ६४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।
पहिलो त्रैमाससम्ममा सर्वाधिक कर्जा प्रवाह वृद्धि गर्नेमा कर्णाली डेभलपमेन्ट बैंक छ । गत वर्षभन्दा यस वर्ष कर्णाली डेभलपमेन्ट बैंकले ११ दशमलव ६२ प्रतिशत बढी कर्जा प्रवाह गरेको हो । गत वर्षको पहिलो त्रैमाससम्ममा ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको कर्णाली विकास बैंकले यस वर्षको सोही अवधिसम्ममा ३ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकले यस वर्ष ११ दशमलव ३० प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म ४ अर्ब ८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको सप्तकोशी डेभलपमेन्ट बैंकले यस वर्षको सोही अवधिसम्म ४ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।
यस वर्ष पाँच कम्पनीको कर्जा प्रवाह गत वर्षको तुलनामा कम भएको छ, जसमा सिन्धु विकास बैंकको सर्वाधिक १७ दशमलव ५४ प्रतिशत घटेको छ । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ३ दशमलव ५२ प्रतिशत, गरिमा विकास बैंकको २ दशमलव ४२ प्रतिशत, मितेरी डेमलपमेन्ट बैंकको शून्य दशमलव ९६ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको शून्य दशमलव ५६ प्रतिशत कर्जा प्रवाह घटेको छ ।
सिन्धु विकास बैंकले गत वर्षको पहिलो त्रैमाससम्ममा ३ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेकोमा यस वर्षको सोही अवधिमा २ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी मात्र यो कर्जा प्रवाह गरेको हो ।
प्रकाशित समय : १८:४४ बजे



















