गृहपृष्ठ कार्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने
कार्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने
पाटनको कृष्ण मन्दिर परिसरमा रहेको ‘कार्तिक डबली’मा कार्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने भएको छ । हरेक वर्ष पाटनमा ‘कार्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार कात्तिक २१ गतेदेखि सुरु भएको कार्तिक नाच ३० गतेसम्म सञ्चालन हुनेछ ।
नाचको तेस्रो दिन आज साँझ ‘बाथः प्याखँ–कौला खिचा’ नृृत्य प्रदर्शन गर्न लागिएको हो । ‘बाथः प्याखँ–कौला खिचा’ अर्थात् बाठा तीन भाइले एक ब्राह्मणलाई सत्य भएर पनि भ्रमित बनाउन सफल भएको विषयमा आधारित नृत्य मञ्चन गरिने कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।
“यस कथामा सडकको तीन कुनामा छरिएर बसेका तीन बाठा मानिसले एक ब्राह्मणले दानमा पाएको बोका ल्याएको देख्छन्, उनीहरुले त्यस बोका आफूहरुले खाने जुक्तिअनुरुप ‘ब्राह्मणले कुकुर ल्याए । ब्राह्मणले कुकुर ल्याए’ भनेर कराउँछन् । ब्राह्मणले, “यो कुकुर होइन् । यो त बोका हो”, भन्छन् ।
ती तीन व्यक्तिले “होइन, यो कुकुर नै हो भन्छन् । यसो भनेर जिद्धी गरेपछि ब्राह्मणले पक्कै यो कुकुर रहेछ भन्दै बाटैमा छाडेर जान्छन् । सो बोका ती तीनै व्यक्तिले मिलेर खान्छन्”, उनले भने । यदि धेरै मानिस मिलेर झुटो बोले भने सत्यलाई पनि असत्य बनाउन सकिन्छ भन्ने कुरा नृत्य र नाटकमार्फत दर्शाउन खोजिएको उनको भनाइ छ ।
यसअघि बुधबार राति ‘भक्तसुरदास प्याखँ’ र बिहीबार ‘बाथः प्याखँ–च्वले खुदाँ दाँ खुदाँ’ नाच ठूलो हर्ष र भव्यताका साथ सम्पन्न गरिएको प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताए।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । यस गरिमायम नाचको सर्जक श्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षा गुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई दिइन्छ । कार्तिक नाचको माध्यमद्घारा देशमा आउने विध्नबाधा हटेर शान्ति र सु–व्यवस्था कायम रहने विश्वास गरिन्छ ।
यस नाच थालनीले सुरुआती चरणदेखिनै जनतालाई एउटै सुत्रमा बाँधेर मनोरञ्जन दिनाका साथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिने रहेको संयोजक शर्माले बताए । “कार्तिक महिनाभर विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कार्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु ठूलो विशेषता रहेको छ”, संयोजक शर्माले भने ।
ेकार्तिक नाच प्रथम पटक पाँच दिन प्रदर्शन गरिएको थियो । सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालादेखि ‘बाथःप्याखँ’ अर्थात ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिनसम्म सञ्चालन गरिएको अध्यक्ष चित्रकार बताउछन् ।
“श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई पछि थपेर २७ दिन सञ्चालन गरेको विश्वास गरिन्छ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको थियो”, उनले भने ।
यो ललितपुरको मात्र नभइ सिगों मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत संस्कृतिको जगेर्ना गर्ने माध्यम पनि बनिरहेको महानगर वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य बताउछन् । हिन्दूका साथै बौद्धधर्मावलम्बीका लागि पनि अतिनै महत्वपूर्ण सो नाट्य महोत्सव विगतका वर्षमा आठ दिन मात्रै मञ्चन गरिने गरेकोमा यसवर्ष १० दिन मञ्चन हुने भएको छ ।
“यो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा सम्पूर्ण नेपाली सामुरहन सफल भएको छ । ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता बोकेको यस नाचको गरिमा आज पनि उत्तिकै उच्च रहेको छ”, अध्यक्ष शाक्य भन्छन् ।
विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार सङ्ग्रहालय परिसरमा हरेक वर्ष कार्तिक नाच देखाइन्छ । कार्तिक नाच देखाउने पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्र घोषित गरेको हो । नाच प्रदर्शन गरिने पाटन क्षेत्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रूपमा परिचित काठमाडौँ उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो मानिन्छ ।
सो नाचका अलवा पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि पनि मनाइन्छन् । पाटनमा काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निमाण भई विभिन्न विदेशी मुलुकमा निर्यात हुने गरेको पाटन दरबार सङ्ग्रहालयका निर्देशक सुरेशमान लाखेले बताए ।
प्रकाशित समय : १७:२७ बजे


















