गृहपृष्ठ वैकल्पिक शक्तिको बन्ध्याकरणः बालेन साह कसरी बन्लान् विकल्प ?
वैकल्पिक शक्तिको बन्ध्याकरणः बालेन साह कसरी बन्लान् विकल्प ?
रास्वपाको ऐना बनेका मुकुल
रविले जतिसुकै आफुलाई सही देखाउन खाजेपनि उनकै महामन्त्री डा. मुकुल ढकाल उनका लागि भारी परिदिए । यही चाल हो भने पार्टी अर्को विवेकशील बन्दै आगामी निर्वाचनमा एक सिट मात्रै जित्न सकिने प्रतिवेदन देशभर घुमेका मुकुलले तयार पारेपछि उनी कारबाहीमा परे । उनलाई पार्टीबाट निकालियो र रवि लामछानेका सबै पोल खोल्न थाले । जसले रास्वपा पनि नयाँ जोगी मात्रै हो भन्ने स्पष्ट पारिदियो । सहकारी ठगीदेखि राहदानी पासपोर्ट काण्ड दबाउन रवि सरकारमा गएको खुलाए । त्योभन्दा पनि माथि उठेर मुकुलले स्वर्णिम वाग्लेमाथि त नेपाललाई भुटानीकरणको शैलीमा लगेर भारतको पोल्टामा हाल्दिन उद्दत रहेको राष्ट्रघाती ,देशद्रोहका योजनाकार नै भएको आरोप लगाए । अहिले रास्वपालाई ‘ठग्न बनेको संगठन’को ट्याग लागिरहेको छ । सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका छन् ।
क्षेत्रीय दलको उदय
संविधान निर्माणअघि संघीय लोकतान्त्रिक फोरम, जसपालगायत पार्टीहरु आफुलाई मधेशको मसिहा मान्थे । संघीयता ल्याउनमा उनीहरुको ठूलो हात रहेको बिषयलाई नकार्न पनि सकिँदैन । तर, मधेशी जनताको हितभन्दा बढी सत्तास्वार्थमा केन्द्रीत भएपछि उनीहरुको विकल्पमा उदाए– जनमत र नागरिक उन्मुक्ति । जनमतको नेतृत्व वैज्ञानिकसमेत रहेका डा. सीके राउतले गरे भने नाउपा रेशम चौधरीले जेलबाटै खोले । मधेशी दलप्रति जनता रुष्ट भएको तथ्य २०७९ का निर्वाचनले पनि देखाउँछ । मधेशमा एमाले पहिलो दल बन्यो । तर जनमतले केही मत भने पायो । जुन जसपाका लागि थ्रेट बन्यो । भलै कम सिट ल्याए पनि वैचारिक रुपमा अहिलेसम्म रास्वपाजस्तो आलोचित जनमत छैन । तर नाउपा भने पारिवारिक झगडामै आफ्नो धरातल गुमाउँदैछ ।
वैकल्पिक राजनीति के हो ? के होइन ?
वैकल्पिक राजनीति, राजनीतिमात्र वैकल्पिक होइन । योजना र लक्ष्य पनि वैकल्पिक हुनुपर्ने हो । विचारधारा परम्परावादी दलभन्दा फरक हुनुपर्यो । माक्र्स, माओ, वीपी, मदन नमान्ने हो भने नेपाली माटो सुहाउँदो राजनीतिक दर्शन ल्याउन सक्नुपर्यो । पश्चिम जाने लक्ष्य राखेर पूर्व जाने गाडी चढ्नु भएन । शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी श्रृजनाका क्षेत्रमा आधुनिक, पृथक योजना प्रस्तुत गर्न सक्नुपर्दछ । राजनीतिकर्मीहरू व्यक्तिवादी नभई विचारवादी बन्न सिक्नुपर्यो । सत्ता र पद मात्र सबै चिज हो भन्ने भ्रमबाट मुक्त हुने सके मात्रै वैकल्पिक राजनीतिले विकल्प दिन सक्छ । बुढा नेताको विकल्प युवा र पुराना पार्टीको विकल्प नयाँ पार्टी हुनुलाई मात्रै वैकल्पिक राजनीति भन्न सकिँदैन । नेपालको वैकल्पिक राजनीतिलाई भारतको आम आदमी पार्टी र अरबिन्द केजरवालसँग तुलना गरिन्छ । केजरीवालले पार्टी खोल्नुअघि नै वषैं अभियान चलाएका पात्र हुन् । उनले समाज बुझे र रणनीति बनाए । तर कोही लोकप्रिय भयो वा चुनाव जित्ने वातावरण देख्ने बित्तिकै वैकल्पिक राजनीतिको नाममा हाम फालिहाल्ने नेपाली चरित्रले वास्तविक वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्दैन ।
वैकल्पिक शक्ति सकिएकै हुन् त ?
वैकल्पिक राजनीति, राजनीतिमात्र नभई यो आन्दोलन हो भन्ने उनीहरु मान्छन् । तर यो आन्दोलनको नेतृत्व गर्ने समूह वा दल हरेकपटक कमजोर बन्दै गइरहेको छ । पार्टी सकिए पनि आन्दोलन नसकिने एकथरीको बुझाइ छ । तर, हरेक आन्दोलन असफल सावित हुन थालेपछि नेपालमा वैकल्पिक शक्तिको भविष्यसमेत नभएको चर्चा हुन थालेको छ ।
मुलुकमा व्यवस्था फेरियो तर जनताको अवस्था फेरिएन । मु्लकमा वैकल्पिक शक्ति उदाए पनि तर वैकल्पिक योजना र बाटो देखाउन सकेनन् । कांग्रेस एमालेले जुन बाँडीचुँडीको परम्परा चलाएका थिए । त्यसैमा आफुलाई वैकल्पिक भन्नेहरु पनि रमाए । र अब नेपाली नागरिक कोही वैकल्पिक शक्तिको नारा लिएर आएकै भरमा मत दिने अवस्थामा देखिँदैनन् । किनकि वैकल्पिक राजनीति केही सीमित मान्छेहरु स्थापित गर्ने आन्दोलनमात्रै रहेछ भन्ने छाप जनतामा पर्दैछ । यो पाटोबाट हेर्दा अब वैकल्पिक राजनीतिको ढोका बन्द भएकै मान्न सकिन्छ । र पपुुलर योजना ल्याएकै भरमा बहुदलीय व्यवस्थामा ठूलो संगठन भएका पार्टी बर्खास्तीको सपना पनि सपना मात्रै हुने देखिन्छ ।
टुटेको छैन आश
एकातर्फ दुई वर्ष अगाडि मात्रै वैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपा पतनको बाटोमा पुगेपछि के कम्युनिस्ट र कांग्रेसभन्दा अलग र उन्नत राजनीति सम्भव नै छैन ? भन्ने प्रश्न छ । अर्कोतर्फ गणतन्त्रका सुन्दर फुल बालेन, गोपी र हर्कहरुको आश । रास्वपाले बाटो बिराए पनि जनताको अर्को वैकल्पिक आश हुन् बालेन शाह । स्थानीय तहको क्षेत्राधिकार र शक्ति देखाएर संघीय सरकारलाई समेत आच्छ आच्छुु पारेका बालेनलाई देशकै कार्यकारीको हैसियतमा हेर्न चाहने जमात ठूलो छ । बालेन साहले जसरी चुनावमा आफ्नो क्याम्पियनको व्यवस्थापन गरे, त्यो साँच्चिकै मोडर्न, युवाहरूको मन जित्ने र प्रभावकारी पनि थियो । उनले चुनावको बेला युवाको मन जित्दै सबै उमेर समूहलाई ब्यालेटमा तान्ने प्रयास गरे । र निर्वाचित भएपछि पनि संविधानले दिएका क्षेत्राधिकार प्रयोग गरे र भिड्नुपर्ने देखे । केन्द्रीय नेतृत्वसँगै पनि भिड्न पछि परेनन् ।
बालेनको उचाई लोकप्रियता हिसाबले खस्किँदो अवस्थामा रहेको रास्वपालाई पनि भारी परेको छ । धनगढीमा गोपी दाइ नामले परिचित गोपाल हमाल वैकल्पिक राजनीतिको आशा गरिएका अनुहार हुन् । पहिले विवेकशील साझाबाटै चुनाव लडेका हमालले पछि स्वतन्त्र उम्मेदवारी नै दिएका थिए । गोपाल हमालले नगर सौदर्यीकरण, हरियाली प्रर्वद्धन, फोहोर व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहका सवालमा अपेक्षाकृत नै काम गरेका छन् ।
उता सप्तकोषको पानी ल्याएर धरानबासीको तिर्खा मेट्ने चुनावी एजेण्डा बनाएर धरानमा हर्कले चुुनाव जिते । जनश्रमदानबाटै कोकाहा खोलाको पानी धरान पुर्याए । शनिबारलाई श्रमबार भन्छन् र श्रमदान् गराउँछन् । उनलाई धेरैले नेपाली श्रमक्रान्ति र श्रम सभ्यताको पिताकै उपमा दिए । कहिलेकाहीँ अनावश्यक गतिविधिका कारण विवादमा आउने गरेका हर्कको लोकप्रियता पनि कम आक्न मिल्ने छैन ।
तर बोलन, हर्क र गोपीले एक्लाएक्लै गरेर हुनेवाला केही छैन । किनभने बहुदलीय व्यवस्थामा चाहिने संगठन र पार्टी नै हो । त्यसका लागि उनीहरुले नयाँ पार्टी नै खोलेर जाने चर्चा त चलिरहेको छ ।
वैकल्पिक राजनीतिः भाग – १
प्रकाशित समय : ११:५३ बजे




















