गृहपृष्ठ मुक्त हलियालाई दसैँ खर्च जुटाउनकै पिरलो
मुक्त हलियालाई दसैँ खर्च जुटाउनकै पिरलो
शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाईलाई दसैँ खर्च जुटाउने पिरलो छ । चाड पर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि खर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन् ।
तीन पुस्ता हलिया बसेका दामोदर सडक छेउमा रहेको सानो झोपडीमा बस्दै आएको छ । झोपडीकै एक कोठामा सिलाई मेसिन राखेर ग्राहकका पुराना लुगाफाँटा सिउने गर्छन् । गतिलो सीप नहुँदा नयाँ लुगा सिउनेहरूमध्ये थोरै मात्र उनकोमा पुग्छन् ।
महिनामा हुने दुई चार हजार कमाइले घरको नुन, तेल, चालमल, पिठो, दालको जोहो मिलाउन धौधौ पर्छ । कमाई नभएका बेला भोक भोकै झोपडीमा पानी मात्रै पिएर बस्नु परेको पीडा पनि ताजै रहेको छ ।
दामोदरका बुवा बाजे दार्चुलाको बस्कोटमा फुसर्दको बेला निश्चित अन्न लिएर कपडा सिउने (खलो प्रथा) मा काम गर्थे । आफ्नो स्वामित्वको जग्गा थिएन । त्यसले परिवारको गुजारा चल्न नसकेपछि दमाइका बुवा बाजेले गाउँका मुखियाको घरमा हलिया बसेर काम गरेको थियो ।
पहाडमा बसेर जीविका चलाउन गाह्रो हुन थालेपछि दामोदर बुवासँगै विसं २०३६ सालमा सहज जीविनयापनको खोजीमा तराई झरे। “कञ्चनपुरका धेरै ठाउँमा बस्यौँ”, “कुनै ठाउँमा पनि स्थायीरूपले बस्न पाएनौँ, जहाँ बस्न खोज्थ्यौँ, त्यहाँबाट कतै वनको जग्गा त कतै दलित भनेर हटाइन्थ्यो ।” स्थायीरूपमा बस्नका लागि जग्गा खरिद गर्ने सामर्थ नहुँदा घुमन्तेरूपमा जीवन बिताउनुपर्ने बाध्यता रहेको सुनाए ।
कमाई गर्ने एक मात्रै साधन हातले चलाउने सिलाई मेसिन मात्रै थियो । “मेसिनले कपडा सिउँदा आउने खलो (निश्चित अन्न)ले जीविका चल्थ्यो”, “जिउ ढाक्ने लुगाफाटो अरुसँग माग्नुपर्ने हुन्थ्यो ।” विसं २०६५को भदौमा हलिया मुक्तिको घोषणासँगै खलो प्रथाको पनि अन्त्य भयो । त्यसपछि हाते सिलाई गर्ने मेसिन चलाएर दमाई परिवारले जीविका चलाउँदै आएका थिए ।
राष्ट्रिय मुक्तहलिया समाज महासङ्घ नेपाल र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको समन्वयमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा सञ्चालित ब्रीज परियोजनाअन्र्तगत दमाईले सिलाई गर्ने मेसिन पाएको छ । मेसिन पाएपछि घर खर्च चलाउन केही सहज भएको छ । “आर्थिक अभावमा पहिला हातैले चलाउने सिलाई मेसिनले छिटो छरितो रूपमा काम चलाउन गाह्रो हुन्थ्यो”, “खुट्टाले चलाउने मेसिन पाएपछि काम गर्न छिटो छरितो त भएको छ, कपडा सिउने सीप पुरानो छ, युवाहरूले रुचाउने आधुनिक पहिरन बनाउनका लागि तालिमको आवश्यकता छ, त्यो पाएको छैन, मेसिन पाएर पनि सोचे जस्तो आम्दानी बढेको छैन ।”
दुई दशकसम्म हलिया बसेर कार्य गरे पनि मुक्त हलियाको लगतमा उहाँ समावेश हुनबाट छुटनु भएको छ । लगतमा समावेश नहुँदा परिचयपत्र र पुनःस्थापनका प्याकेज पाएको छैन । पच्चिस वर्ष अघि बनाइएको झोपडीमा दमाई परिवार बस्दै आएको छ । “प्लाष्टिको कालो त्रिपाल र घाँसको छाना भएको कच्चि झोपडी बनाएको वर्षौं भइसक्यो”, “झोपडी ढल्ने अवस्थामा पुगेको छ, झोपडी ढले आश्रयस्थलको खोजिमा फेरी भौतारिनुपर्ने छ ।”
दमाईका चार छोरी र एक छोरा छन् । आवश्यक रकम जुटाउन नसक्दा टीकाटालो गरेर छोरीको विवाह गरी बिदाई गरेको नमिठो अनुभव छ । “एक मात्रै छोरा, पढाएर ठुलो मान्छे बनाउने धोको नै थियो”, “पढाईका लागि आवश्यक रकम जुटाउन सकिन, बीचमै विद्यालय छुटाएर दुई महिना अघि कमाई गर्नका लागि भारत पठाएको छु ।” छोरालार्ई भारत पठाउनु रहर नभएर बाध्यता भएको उल्लेख गरे ।
सिलाईसँगै पहिला दामोदर पञ्चेबाजाअन्र्तगत पर्ने दमाहा बजाउने त्यसबाट केही आम्दानी हुन्थ्यो । विवाहमा आधुनिक बैण्डबाजाको प्रयोग हुन थालेपछि बाजा बजाउने कार्य ओझेलमा परेको छ । “झोपडीको कुनामा दमाहा झुण्याएको वर्षौं भइसकेको छ”,बजाउनका लागि माग आउँदैन, दमाहा बजाउने कुरा एकादेशको कथा जस्तै भएको छ ।दसैँ आए पनि एक छाक खानका लागि अरुसँगै हात थाप्नुपर्ने अवस्था दमाई परिवारलार्ई रहेको छ । हाम्रा पीरमार्का मात्रै नसोध्नोस्, दुई छाक खाना सहजरूपमा खाने व्यवस्था, सुरक्षित आवासको व्यवस्थाका लागि पहल गरिदिनोस्, यहि मात्रै हाम्रो अनुरोध छ, उनले भने ।
प्रकाशित समय : १६:३५ बजे


















