global ime bank Long Banner Ad

गृहपृष्ठ मुक्त हलिया परिवारलाई दसैँ खर्च जुटाउने पिरलो

मुक्त हलिया परिवारलाई दसैँ खर्च जुटाउने पिरलो

मुक्त हलिया परिवारलाई दसैँ खर्च जुटाउने पिरलो

शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाइँलाई दसैँ खर्च जुटाउने पिरलो छ । चाडपर्वमा मिठोमसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि दमाइँ परिवारखर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन् । तीन पुस्ता हलिया बसेका दामोदर सडक छेउमा रहेको सानो झुपडीमा बस्दै आएका छन् । उनि झुपडीकै एक कोठामा सिलाइ मेसिन राखेर ग्राहकका पुराना लुगाफाँटा सिउने कार्य गर्छन । गतिलो सीप नहुँदा नयाँ लुगा सिउने थोरै मात्र पुग्छन् । महिनामा हुने दुई–चार हजार कमाइले घरको नून, तेल, चामल, पिठो, दालको जोहो मिलाउन उनको परिवारलाई धौधौ पर्छ । कमाइ नभएका बेला भोकभोकै झुपडीमा पानी मात्रै पिएर बस्नु परेको पीडा उनसँग रहेको छ ।

दामोदरका बुवाबाजे दार्चुलाको बस्कोटमा फुसर्दको बेला निश्चित अन्न लिएर कपडा सिउने(खलो प्रथा) मा काम गर्छन्। आफनो स्वामित्वको जग्गा थिएन । त्यसले परिवारको गुजारा चल्न नसकेपछि उनका बुवा बाजेले गाउँका मुखियाको घरमा हलिया बसेर काम पनि गरे । पहाडमा बसेर जीविका चलाउन गाह्रो हुन थालेपछि दामोदर बुवासँगै विसं २०३६ मा सहज जीविनयापनको खोजीमा तराई झरे ।

“कञ्चनपुरका धेरै ठाउँमा बस्यौंँ”, उनले भने,“कुनै ठाउँमा पनि स्थायी रुपले बस्न पाएनौँ, जहाँ बस्न खोजथ्यौँ, त्यहाँबाट कतै वनको जग्गा त कतै दलित भनेर हटाइन्थ्यो ।” स्थायी रुपमा बस्नका लागि जग्गा खरिद गर्ने सामर्थ नहुँदा घुमन्ते रुपमा जीवन बिताउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।

कमाइ गर्ने एक मात्रै साधन हातले चलाउने सिलाइ मेसिन मात्रै थियो । “मेसिनले कपडा सिउँदा आउने खलो(निश्चित अन्न)ले जीविका चल्थ्यो”, उनले भने, “जिउ ढाक्ने लुगाफाटो अरुसँग माग्नुपर्ने हुन्थ्यो ।” विसं २०६५ को भदौमा हलिया मुक्तिको घोषणासँगै खलो प्रथाको पनि अन्त्य भयो । त्यसपछि हाते सिलाइ गर्ने मेसिन चलाएर उनको परिवारले जीविका चलाउँदै आएका थिए । राष्ट्रिय मुक्तहलिया समाज महासङ्घ नेपाल र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको समन्वयमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा सञ्चालित ब्रिज परियोजना अन्तर्गत दामोदरले सिलाइ गर्ने मेसिन पाएका छन् । मेसिन पाएपछि घरखर्च चलाउन उनलाई केही सहज भएको छ ।

“आर्थिक अभावमा पहिला हातैले चलाउने सिलाइ मेसिनले छिटोछरितो रुपमा काम चलाउन गाह्रो हुन्थ्यो”, उनले भने, “खुट्टाले चलाउने मेसिन पाएपछि काम गर्न छिटोछरितो भएको छ, कपडा सिउने सीप पुरानो छ, युवाहरुले रुचाउने आधुनिक पहिरन बनाउनका लागि तालिमको आवश्यकता छ, त्यो पाएको छैन, मेसिन पाएर पनि सोचे जस्तो आम्दानी बढेको छैन ।”

वास्तविक रुपमा दुई दशकसम्म हलिया बसेर कार्य गरे पनि मुक्त हलियाको लगतमा उनि समावेश हुनबाट छुट्एको छ । लगतमा समावेश नहुँदा उनले परिचयपत्र र पुनःस्थापनका प्याकेज पाउनुभएको छैन । पच्चीस वर्षअघि बनाइएको झुपडीमा दामोदरको परिवारका सदस्य बस्दै आएका छन । “प्लाष्टिकको कालो त्रिपाल र घाँसको छाना भएको कच्ची झुपडी बनाएको वर्षौ भइसक्यो”, उनले भने “झुपडी ढल्ने अवस्थामा पुगेको छ, झुपडी ढले आश्रयस्थलको खोजीमा फेरि भौतारिनुपर्ने छ ।”

उनका चार छोरी र एक छोरा छन् । आवश्यक रकम जुटाउन नसक्दा टिकाटालो गरेर छोरीको विवाह गरी बिदाइ गरेको नमिठो अनुभव उनिसँग छ । “एक मात्रै छोरा, पढाएर ठुलो मान्छे बनाउने धोको नै थियो”, उनले भने, पढाइका लागि आवश्यक रकम जुटाउन सकिन, बीचमै विद्यालय छुटाएर दुई महिनाअघि कमाइ गर्नका लागि भारत पठाएको छु ।” छोरालाई भारत पठाउनु रहर नभएर बाध्यता भएको उनले बताए ।

सिलाइसँगै पहिला दामोदर दमाहा बजाउछन् । त्यसबाट केही आम्दानी हुन्थ्यो । विवाहमा आधुनिक बैण्डबाजाको प्रयोग हुन थालेपछि बाजा बजाउने कार्य ओझेलमा परेको उनको भनाइ छ । “झुपडीको कुनामा दमाहा झुण्र्याएको वर्षौ भइसकेको छ”, उनले भने “बजाउनका लागि माग आउँदैन, दमाहा बजाउने कुरा एकादेशको कथा जस्तै भएको छ ।” दसैँ आए पनि एक छाक खानका लागि अरुसँगै हात थाप्नुपर्ने अवस्था उनको परिवारलाई रहेको छ । उनि भन्छन्, “हाम्रा पिरमर्का मात्रै नसोध्नोस, दुई छाक खाना सहज रुपमा खाने व्यवस्था, सुरक्षित आवासको व्यवस्थाका लागि पहल गरिदिनोस्, यही मात्रै हाम्रो अनुरोध छ ।”

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु