global ime bank Long Banner Ad

गृहपृष्ठ उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ: मन्त्री भण्डारी

उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ: मन्त्री भण्डारी

उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ: मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्स्पो–२०२४’ को उद्घाटन गर्दै मन्त्री भण्डारीले यति बेला नीतिगत सुधार जटिलतालाई समाधान गर्नेतर्फ सरकार लागिपरेको बताए । उनले सरकारी तवरबाट लगानीकर्तामैत्री र परियोजनामैत्री वातावरण बनाउने क्रमबद्ध कार्ययोजना तय भएको बताए ।

“आर्थिक मन्दीले सुनचाँदी व्यवसाय फस्टाउन सकेको छैन, विभिन्न माध्यमबाट चोरीपैठारी र आयात भएको छ, यसलाई रोक्न प्रयत्न गरिरहेका छौँ, कोटा प्रणालीमा आयात हुने हुँदा माग अनुसारको आपूर्तिमा पनि समस्या परिरहेको छ, हाम्रो मौलिक परम्परामा आधारित बहुमुल्य बस्तुका गरगहना निर्यातका लागि आपूर्ति सहज बनाउनु आजको आवश्यकता छ, यो क्षेत्रलाई निर्यात र रोजगारीको माध्यम बनाउन हामी तत्पर छौँ”, उनले भने ।

मन्त्री भण्डारीले हाम्रा सम्पदा र मौलिकता गौरवका विषय भएको उल्लेख गर्दै विश्व सम्पदा सूचीमा सुचिकृत पाटन दरवार क्षेत्र मुलुको पहिचान भएको बताए । बहुमुल्य बस्तुहरुको चोरी, पैठारी र अनाधिकृत तवरबाट हुने निकासीबाट सरकारले राजश्व गुमाइरहेको भन्दै उनले नेपाललाई बहुमुल्य बस्तु निर्यात गर्ने राष्ट्रको रुपमा चिनाउने कुरामा सरकार गम्भीर रहेको धारणा राख्ये ।

“हाम्रो भन्सारले पारेको प्रभाव र निर्यातमा भएको समस्या समाधान गर्नु जरुरी छ, यसका लागि मन्त्रिपरिषद र समितिमा छलफल भएको छ, हाम्रो कला, रोजगारी, मौलिक परम्परा यसमा जोडिएको छ, झन्डै तीन लाख रोजगारी सिर्जना भएको यस क्षेत्रका विषयमा सरकार गम्भीर छ, हामीले व्यवसायिकतामा देखिएका जटिलतालाई पनि सम्बोधन गर्नुपर्ने छ, निर्यातका लागि राष्ट्रिय सम्मेलन गरेर निर्यातका बस्तु तय गरिने छन्”, मन्त्री भण्डारीले भने ।

निजी क्षेत्र, व्यवसायी र व्यापारी हुँदा पनि वित्तीय क्षेत्रमा लगानी थुप्रिएको उल्लेख गर्दै उनले घरजग्गामा होइन, उद्योग क्षेत्रमा लगानी प्रोत्साहन गर्नु आवश्यक छ भने, “आन्तरिक र बाह्य लगानी आकर्षित गर्न सरकार प्रतिवद्ध छ ।”

सांसद प्रेमबहादुर महर्जनले सबै समुदायमा गरगहना प्रयोग गर्ने संस्कृति रहेको भन्दै यो एक्स्पोबाट व्यापार मात्रै नभइ संस्कृति प्रवद्र्धनमा पनि मद्दत पुग्ने बताए ।

ललितपुर रत्न तथा आभूषण सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले रत्न तथा आभूषण क्षेत्रमा निर्यातमा कमी आउँदा उद्यमी व्यवसायी ढुक्क हुने अवस्था नरहेको बताए । पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा आजदेखि सुरु भएको एक्सपो यही असोज १३ गतेसम्म चल्नेछ ।

 

प्रकाशित समय : १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु