गृहपृष्ठ रवि हतासिएको छानबिन प्रकरण र बुझ्न बाँकी केही तथ्य
रवि हतासिएको छानबिन प्रकरण र बुझ्न बाँकी केही तथ्य
टेलिभिजनबाट लखेट्दा लखेट्दै नेता बनाए । नेताबाट लखेट्दा लखेट्दै सांसद बनाए । सांसदबाट लखेट्दा लखेट्दै गृहमन्त्री बनाए । अझै लखेट्दैछन् प्रधानमन्त्री नै बनाउँछन कि क्या हो भन्ने बुझाई रवि लामिछानेको छ । तर यो लखेटाईका पछि लखेट्नेहरुमात्रै दोषी थिए कि, उनी स्वयंम् पनि कारक हुन् ? अब मूल्यांकन कोही कसैले नभई जनताले गर्दैछन् ।
दुईबर्षपछि ६० पुग्दै गरेका बलिवुड अभिनेता सलमान खानलाई एकपटक पत्रकारले प्रश्न गर्छन्– तपाईँ अहिलेसम्म सिङगल हुनुको दोषी को हो ? किन सबैले छोडेर गए । सलमानले जवाफ दिन्छन्– पहिलोले छोड्यो, दोष उसकै लाग्यो । दोस्रोले छोड्यो, कमजोरी उसकै हो भन्ने लाग्यो । तेस्रोले छाड्यो कमि उसमै थियो भन्ने लाग्यो । तर चौथोले समेत छोडेपछि अलिअलि आफैप्रति शंका जाग्यो । तर पाँचौंले छोडेपछि दोष मेरै थियो भन्ने पक्का भयो ।
अहिले चौतर्फी रुपमा रवि लामिछानेलाई सहकारी ठगका रुपमा ब्याख्या गरिएको छ । तथापी रवि अहिलेसम्म एउटै कमजोरी स्वीकार्न तयार छैनन् । शालिकराम पुडासैनी केसमा फसाउन खोजियो, नागरिकतामा फसाउन खोजियो, दोहोरो राहदानीमा मानौं फसाइँदैछ । हुँदा हुँदा सहकारीमा समेत फसेपछि जनताले अब चाहीँ शंका गर्न थालेका छन् । कतिपटक अरुकै थाप्लोमा दोष बोकाएर वा मानौं भनेर मान्दिनुपर्ने हो ? यो झन गम्भीर सवाल हो । तथापी रवि जालझेल गरि मलाई सहकारीको पैसा खान बाध्य पारे भन्ने शैलीमा प्रस्तुत भएपछि धेरैलाई चित्त बुझेको छैन । यो दुनियाँमा फसाउन लायक अरु कोही नभएर सबैको ध्यान रविमाथि नै केन्द्रीत बनेको हो कि, वा रवि पहिल्यदेखि नै फस्ने बाटोमा चल्दै आएका थिए । नत्र सबै अनिष्ट रविमाथि नै हुनुपर्ने कारण के ?
मुलतः छबि पक्राउ परेपछि नै रवि आत्तिएका थिए । तर रवि लामिछानेकै आईडियामा सहकारीको पैसा जीबीले गोरखा मिडियामा ल्याएका थिए भन्ने दाबीसहितको बयान पक्राउ परेका छबि अर्थात् छबिलाल जोशीले दिएपछि रवि पक्राउ पर्ने सम्भावना दिन दुई गुणा रात चौगुणा बढेको छ । जसलाई स्वीकार गरेका रविले पनि भन्दैछन् कि– सरकार हदभन्दा बढी गिर्दै पक्राउ गर्नकै लागि छबिको बयानलाई प्रयोग गर्दैछ ।
गोरखा मिडियाको सञ्चालकसमेत रहेका छबिलाल जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । मंगलबार राति पोखरा प्रहरीले उनको बयान लिएको थियो । तर मध्यरातसम्म चलेको बयान बुधबार बिहानै पत्रिकामा सार्वजनिक भयो । अहिले पारो तातिएपछि रवि रिसले चुर भएर पत्रिकामाथि आगो ओकल्दैछन् । तथापी प्रहरीले बयान नसकिएको र बाहिर आएजस्तो नभएको बताएको छ । ‘बयान बिहिबारबाट सुरु गर्दैछौं ।,’ कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले भने, ‘त्यो सरकारी वकिलमा हुने हो । अहिले बयान भएको पनि छैन र त्यसरी सार्वजनिक गर्न पनि मिल्दैन ।’
छबि पक्राउ पर्ने बित्तिकै प्रहरीले रास्वपाको पार्टी कार्यालयमा समेत रेकी हालेको थियो । प्रहरी बाक्लिँदै गएपछि रविले उपत्यकामा भएका पार्टी समर्थकलाई बोलाएर सम्बोधन समेत गरे । तर पक्राउ गर्ने संकेतमात्रै देखाएर सरकार पछि हटेपछि रवि पनि ‘बहादुरीका साथ ब्याक’ भएका छन् । अर्थात् मंगलबार साँझ फेसबुक लाइभमार्फत आफ्ना केही दोषहरुलाई स्वीकारसमेत गरेका उनले मुख्यतः दुई कुरा बोलेका छन् । पहिलो, छानबिन समितिको रिपोर्टले सहकारीबाट एक रुपैयाँ पनि ल्याउन भूमिका देखाएन । दोस्रो, तर गोर्खा मिडियामा आएको पैसा परिचालन र खर्च गर्न मेरो भूमिका देखायो । अब कारबाही भोग्नुपरे सहकारी ठगीको नभई गोर्खा मिडियामा आएको रकम परिचालनका विषयमात्रै भोग्छु ।
संसदीय छानबिन समितिले गोर्खा मिडियामा आएको ६५ करोड नै सहकारीको भएको निष्कर्ष निकालेको छ । सोहीमध्ये १४ करोड रुपैयाँ कर्मचारीको तलब भत्तामा खर्च भएको छ । जहाँ दुई आर्थिक बर्षमा एक करोड चार लाख रुपैयाँ तलब बुझेका रवि लामिछानेदेखि ४ लाख १६ हजार तलब बुझ्ने सांसद बिनिता कठायतसम्म अहिले रास्वपामा छन् । पाँच जना पार्टीको पदाधिकारी छन् भने दुई केन्द्रीय सदस्य छन् । पार्टीका अन्य कमिटी र सचिवालयमा पनि गोरखा मिडियामै काम गरेकाहरु छन् । सायद कारबाही भएपनि रविले उनको काँधमा आउने ६५ करोड ५४ लाख मध्ये १५ प्रतिशतको सञ्चालक हिस्सेदारीको दायित्व र सजाय भोग्नु पर्ने हुनसक्छ ।
तर सरकारले उनीविरुद्ध ठगी र संगठित अपराधको मुद्दासमेत लगाउने तयार गरेपछि रवि प्रतिवादमा उत्रिएका छन् । तर मंगलबारमात्रै महान्यायाधिवक्ताको कार्यालयले रविसहितका आरोपितले सहजै उन्मुक्ति पाउने एउटा निर्णय गरेको छ । अर्थात् अब जुनसुकै सहकारीको सञ्चालक भएपनि आरोपितले पीडितको रकम फिर्ता गरे मुद्दा चल्ने छैन । अर्थात् गोरखा मिडियामा आएको ६५ करोड रुपैयाँ आरोपितले पीडितलाई फिर्ता गरे मुद्दा नचल्न सक्छ ।
यो त ६५ करोडको मात्रै कुरा हो । सहकारी छानबिन समितिले ४० वटा सहकारीले ८८ अर्ब रुपैयाँ अपचलन भएको निष्कर्ष निकालेको छ । यी ठूला सहकारी ठगहरु को–को हुन् ? सबैलाई कानुनी दायरामा ल्याएर जनताको रकम फिर्ता गराई सरकार भएको अनुभूति गराउनुपर्ने बेलामा सारा शक्तिको ध्यान रविमाथि नै केन्द्रीत भएको विषय भने अचम्मित पार्ने खालको छ । काँग्रेस–एमाले पनि बचतकर्तालाई न्यायभन्दा पनि रविविरुद्ध बद्लाकै राजनीतिमा उभिएको केही तथ्यहरुले देखाउँछन् । बुधबार मात्रै एमाले महासचिव शंकर पोखरेलले रविले हो हल्ला गर्दै अनुसन्धानलाई प्रभावित पार्न खोजेको आरोप लगाएका छन् ।
छानबिन समितिको प्रतिवेदन पछि पनि विषय कार्यान्वयनभन्दा आरोप प्रत्यारोपमा केन्द्रीत बनेको छ । हिजो माग फारम नै आफै भरि रवि सहकारीमा पैसा लिन गएको दाबी छानबिनबाट प्रमाणित नभएपछि प्रमाण प्रमाण भन्दै कुर्लिएका गगन थापा र विश्वप्रकाश शर्माहरु पनि अहिले प्रणाम भन्ने अवस्थामा पुग्दैछन् । तथापी रविलाई एक पटक पक्राउ गराउन पाए आफु सफल हुने बुझाई उनीहरुको छ । फलतः सरकारले जुनसुकै बेला आफ्नाविरुद्ध कदम चाल्नसक्ने कुरामा रवि पुरापुर जानकार छन् । किनकि रविको हातमा हतकडी लगाएको रहर पुरा गर्नकै लागि भएपनि एमाले–काँग्रेसले रविलाई पक्राउ गराउने सम्भावना बलियो छ । उही मुद्दा र उस्तै भूमिकामा रहेका छबिलाई पक्राउ गर्नुको अर्थ नै रविविरुद्ध बजाएको निर्णायक घण्टी हो । तर रविले पनि जानी जानी ढाकछोप गरेका केही तथ्यहरु छन्, जसलाई दबाएर उनी उन्मुक्ति पाउनेभन्दा अरु सोचिरहेका छन् । लेखक नारायण गाउँलेका अनुसार रवि जानाजान यो ठगीको जालोमा जोडिएका हुन् । त्यसलाई चिर्ने गरि गाउँलेले केही तथ्य बुँदागत रुपमै सार्वजनिक गरेका छन् ।
१. मिडियाहरू घाटामा चलिरहेको बेला ग्यालेक्सी टिभीको त्यत्रो रबाफ र सुन्दै आश्चर्य लाग्ने तलबभत्ताको स्रोतबारे त उतिबेलै प्रश्न उठेको थियो । लगानीको स्रोतबारे प्रश्न गर्नेलाई ‘ट्याउँ ट्याउँ’ नगर्न सुझाव दिँदै तपाईंले टिभीबाटै कडा जबाफ दिनुभएको थियो, ‘यो उद्योग व्यवसाय गरेर र सरकारलाई कर तिरेर आएको पारदर्शी आम्दानीले सञ्चालित छ ।’ तर छानबिनमा त सबै रकम सहकारीबाट आएको देखियो । एक सुका पनि उद्योगबाट नआएको रहेछ । थाहै नभई बचाउ गर्नुभएको त होइन होला । सामान्य तलबी कर्मचारीले त कम्पनीको लगानी र स्रोतबारे त्यसरी छाती पिटेर बचाउ गर्दैन । कि त त्यो रवि गलत थियो, या अहिले केही थाहा नभएको रवि गलत होला ।
२. गोर्खा मिडियाको अघोषित उद्देश्य नै सहकारीबाट मिडियाका नाममा अवैध पैसा ल्याउने र त्यसलाई विभिन्न शीर्षकमा मिलेमतोमा बाँडफाँड गर्ने थियो भन्ने देखिन्छ । ठगी हुने नै त्यसैगरी हो । योजनाअनुसार नै हरेक शीर्षकमा अस्वाभाविक खर्च पनि देखिन्छ । नत्र सहकारीबाट त्यहाँ पैसा आए पनि त्यो पैसा आज फिर्ता हुन्थ्यो र बचतकर्ताले पाउँथे । त्यत्रो रकम हिनामिना भयो । संयोग हो या दुर्भाग्य, कम्पनीका धेरै जसो चेक तपाईंले नै काट्नुभएको देखियो । कुल आम्दानी शून्य भएको कम्पनीले तलब होइन, पेश्किका नाममा करोडौं रकमको चेक काट्ने काम सामान्य मान्छेलाई त असामान्य लाग्छ, तपाईंले सोच्नुभएन ? जबकि स्रोतबारे प्रश्न उठेको तपाईंलाई पहिल्यै थाहा थियो ।
३. तपाईं निर्दोष हुनुहोला तर जानअन्जान दैनिक दूध बेचेर पैसा वचत गर्ने नागरिकहरुठगिएको पैसामा तपाईँले जागीर खानुभयो । डेढ़ वर्षमैं एक करोड बढी त तलब र पेश्की नै बुझ्नुभयो । जागीर त धेरैले खाए तर तपाईं एक सुका नलगाई त्यही पैसामा कम्पनीको शेयरधनी र एमडी नै बन्नुभयो । अन्जानवश नै सही, ठगहरूको इशारामा पैसा जति आफैले बाँड्नुभयो । अन्जान नै सही, सयौं पीड़ितहरूको पीडाको कारण बन्नुभयो । आज जीबी राई पक्राउ परे पनि पैसा फिर्ता हुन्न । किनकि आएको जति सबै पैसा तलबभत्ता, पेश्की र फर्निचरजस्ता शीर्षकमा खर्च भइसकेको छ । नियत खराब नभए पनि यस्तो गम्भीर अपचलनमा आफ्नो संलग्नता रहन गएकोमा अलिकति गल्तीबोध गर्दै विनम्रतापूर्वक माफी माग्ने अनि सर्वश्व गुमाउनेहरूको क्षति र पीडा कम गर्न सघाउने आश्वासन दिनुपर्नेमा मिडिया र पार्टीहरूप्रति आक्रामकता अलि बढ़ी देखिएको हो कि ? के यो दायाँबायाँ नगरी एकपल्ट सरी भन्न सकिने विषय होइन ?
४. ठगसँग उठबस त दोष मानिन्छ, व्यवसायिक र आर्थिक सम्बन्ध त आफैमा छानबिनको विषय बन्थ्यो नि । हिजो जसले छानबिनका लागि माग गरे र जुन पत्रिकाले यस विषयलाई उठाए, तिनलाई धन्यवाद भन्न पनि सकिन्छ नि । तपाईंमाथिको प्रश्न केही करोडको होला । झन्डै ९० अरब रुपियाँको ठगी काण्ड त बाहिर आयो नि । यो त आजसम्मकै ठूलो ठगी रहेछ त । अब तपाईंहरूलाई पनि लड्ने र दोषीहरूलाई कठघरामा उभ्याउने अवसर मिल्यो नि । त्यत्रो ठूलो ठगीमा लाखौं नागरिक पीडित छन् र सयौं नेता ठग छन् । खबरदारी गर्ने जिम्मा तपाईंहरूको पनि हो ।
५. प्रमाण भनेको त प्रणाम प्रणाम भनेको रहेछ भन्दै गरेको ओठे व्यङ्ग्य र क्लिनचिट भन्ने दाबी अलि उत्ताउलो देखियो कि ? उत्तेजना बढाएर के हासिल होला र ? तपाईं सहकारी ठग्न भनेर गोर्खा मिडियामा जानुभएको हो भन्ने मान्न यो मन तैयार छैन । तर, त्यो व्यूहमा फस्न पुग्नुभयो भन्ने त छानबिन समितिले देखायो । तपाईंको निजी खातामा सहकारीको रकम आएन होला । तर तपाईं सञ्चालक रहेको, तपाईंको समेत नाम रहेको र तपाईंकै हस्ताक्षर चल्ने खातामा त आएको देखियो । कानुनतः तपाईं मालिक रहेको र तपाईंले सञ्चालन गर्ने खातामा पैसा आउनु तपाईंकै खातामा आउनु त हो नि । जीबी राईको पनि त निजी खाता होइन त्यो । शायद यही प्रमाणलाई आधार मानेर छानबिन समितिले कारबाही सिफारिश गरेको हो । जुन तपाईंले स्वीकार गर्ने भन्नुभएको छ ।
६. गोर्खा मिडियामा तपाईंको जम्मा १५ प्रतिशत स्वामित्व थियो । ३५ प्रतिशत छबि र ५० प्रतिशत जीबीको रहेछ । तपाईंले पैसा नहालीकनै पाएको भन्नुभएको छ । तर सरकारी कार्यालयमा तपाईंले पौने करोड तिरेको भौचर बुझाएर १५ प्रतिशत शेयर किनेको भन्नुभएको रहेछ । कानुनमा व्यवस्था नभएकाले झुटो विवरण पेश गर्न परेको भन्नुभएको छ । पछि छोड्ने बेला पनि आफैले पैसा बुझेर शेयर बेचेको विवरण पेश गर्नुभएको छ । तपाईंको सबैभन्दा ठूलो कानुनी कमजोरी यही साबित हुने देखिन्छ । आर्थिक विषयमा सरकारी निकायमा कीर्ते विवरण पेश हुनु जायज होइन । भोलि अन्य व्यवसायीले पनि यस्तै गरे के गर्ने ? कानुन छैन भने त्यस्तो काम नगर्ने हो नि ।
७. कम्पनीको मालिक । स्लिपिंग पार्टनर पनि होइन, एमडी नै । कम्पनीको हिसाबकिताबमा पहुँच नभएको भन्ने पनि छैन, मूल खाता नै तपाईंको नाममा । आयव्यय, स्रोत, चलअचल सम्पत्ति, दायित्व र आर्थिक स्वास्थ्यजस्ता सबै विषय समेटिने वार्षिक लेखापरीक्षण बुझ्ने र बुझाउने पनि आफै । अब तपाईंलाई सामान्य कर्मचारी मान्ने र कम्पनीले गरेका आर्थिक अपचलनमा ‘क्लिनचिट’ दिने हो भने त भोलि कुनै पनि फाइलमा कसैलाई कसरी कारबाही गर्ने ? जिम्मेवारी कसले लिन्छ र ? तलब खाने जति कर्मचारी हुने भन्ने केटाकेटी तर्क गर्ने पत्रिका पनि देखिए । निजी कम्पनीमा लगानीकर्ताले नियमित तलब बुझ्नु सामान्य हो । जीबी राईले पनि बुझेका रहेछन् ।
८. यो नयाँ भाष्य लागू हुने हो भने त देशभरका सहकारी पीड़ितहरूले आत्महत्या गर्नुबाहेक अर्को विकल्प छैन । जसजसले ठगेका छन्, तिनले फाइलभरि प्रमाण थुपारेर पक्कै ठगेका छैनन् । थाहा छैन भने सकिने भयो । उदाहरणका लागि, काँग्रेसका नेता धनराज गुरुङ्लाई लिउँ । नयाँ भाष्य अनुसार त उनले मलाई थाहा छैन भने पुग्ने भयो । उनी सहकारीका सञ्चालक होइनन् । उनकी श्रीमती हुन् । पक्कै ल्याप्चे ठोकेर, प्रमाण जम्मा गरेर उनले रकम हिनामिना गरेका छैनन् । आफ्नो नाममा लिएको ऋण पनि चुक्ता गरेकै रहेछन् । अब उनलाई कसरी समाउने ? तिरेको ऋणका लागि समाउने कुरो भएन । हिनामिनामा उनले प्रमाण खोइ भनेर छाती फुलाई हाल्छन् । कसैले प्रश्न गरे उनले श्रीमती देखाए भयो । दोष जति त्यता देखाए भयो । बठ्याइँ नै होला, अझ डिभोर्स पनि भएको रहेछ । नभएकै भए पनि श्रीमतीको हिसाब मलाई थाहा छैन भने पुग्यो । देशभर यस्तै प्रकृतिका केस छन् । के अब पीड़ितले आश मारे हुने हो ? के केही करोडको जानअन्जान केसमा तपाईं चोखिन प्रयोग भएको भाष्यले देशका सबै ठगलाई उन्मुक्ति मिल्ने हो ?
९. यो इतिहासकै ठूलो ठगीमा राज्यको पनि ठूलो हात छ । मन्त्री छन्, विभाग छन्, नियमन गर्ने निकाय छन्, ऐन छ । यदि ती सबै विभाग र मन्त्रीले पाँच प्रतिशत काम गरेको भए आज जीबी राई यति धेरै सहकारीमा अध्यक्ष हुनै सक्दैनथे । यत्रो पैसा एउटा मिडियामा आइरहँदा, अन्य कम्पनीमा फनेलिंग भइरहँदा प्रश्न उठ्ने थियो । हिजो डिभिजन सहकारी थियो, जिल्ला सहकारी थियो । त्यसले हेर्थ्यो । ती सबै खारिज गरेर, काठमाडौंमा अफिस खोलेर बुटवल र पोखरामा पैसा जम्मा गर्न दिने छुट दिने को हो ? यिनै सरकारहरू होइनन् ? यसरी खुलेआम ठगेर खान मिल्ने बनाउनेहरू ठग होइनन् ? देउवा, ओली र प्रचण्ड दोषी होइनन् ? पोखराको सहकारी रकम कसरी काठमाडौंको कम्पनीमा आउँछ ? देशको बजेट जत्रो सहकारी क्षेत्रलाईलाई नियमन नै नगरी खुला छोड्न मिल्छ ? तपाईंले आफ्नो गल्तीको जिम्मा लिने हो भने तिनले आफ्नो गल्तीको जिम्मा लिन पर्ने कि नपर्ने ? छानबिन समितिले यसबारे पनि प्रश्न उठाएको छ । कारबाही गर्न भनेको छ । तर, आफैले आफैलाई कसले कारबाही गर्छ र ? आज सबै नजर तपाईंप्रति सोझिएको पनि सत्य हो । तर भोलि तपाईंहरू पनि सत्तामा आउनुहोला । ढिलोचाँडो एकदिन त न्याय सबैले पाउँलान् ।
१०. छानबिन प्रतिवेदन अन्तिम न्यायिक निरूपण होइन । त्यो अदालतले गर्ला । त्यतिन्जेल तपाईं दोषी होइन । तर गम्भीर प्रश्न उठेकाले निर्दोष या ‘क्लिनचिट’ पनि होइन । तपाईंले क्लिनचिट भन्नुभो भने अर्कोसँग दोषी भन्ने हक हुन जान्छ । ओठे बहस हुन्छ, भुत्ते लड़ाइँ हुन्छ । तर यो लड़ाइँले पीडितलाई भने कुनै लाभ हुँदैन ।
आज सहकारी वचतकर्ताको झन्डै तीन खर्ब रुपैयाँ जोखिममा छ । लाखौं नागरिकको बिचल्ली हुने अवस्था छ । यो भयङ्कर नागरिक सङ्कटबाट देश कसरी पार होला ?
कानुनी र नैतिक जिम्मेवारी देखिन आए पनि तपाईंको नियत ठग्ने नै होला भन्नेचाहिँ धेरैलाई लाग्दैन । अझै पनि रवि र रास्वपाप्रति धेरै जनताको भरोसा ठाडो छ । खासगरी हामी बाहिर बस्नेलाई तपाईंले सम्भावना र आशाको जुन किरण देखाउनुभएको थियो, त्यो निभिसकेको छैन । तपाईंलाई लडाउने अवसरका रूपमा यसलाई लिनेहरू पनि प्रशस्तै छन् । उत्तेजना या अहमताले होइन, जिम्मेवारी, बुद्धि, विवेक र संयमतापूर्वक यो मुद्दाबाट बाहिर आउन सक्नुहोस्, पीड़ितहरूको घाउमा मल्हम लगाउन सक्नुहोस् र नयाँ पुस्ताले देखेको राजनैतिक सपनालाई फुलाउन सक्नुहोस्, यही कामना छ ।
प्रकाशित समय : १२:२१ बजे


















