global ime bank Long Banner Ad

गृहपृष्ठ वीरेन्द्र–ऐश्वर्य उद्यानको पुनःनिर्माण सुरु

वीरेन्द्र–ऐश्वर्य उद्यानको पुनःनिर्माण सुरु

वीरेन्द्र–ऐश्वर्य उद्यानको पुनःनिर्माण सुरु

धनगढी उपमहानगरपालिका–१ पार्कमोडस्थित वीरेन्द्र–ऐश्वर्य उद्यानको पुनः निर्माण सुरु भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीले उद्यानलाई नयाँ र आधुनिक शैलीमा पुनःनिर्माण सुरु गरेको हो ।

विसं २०८३ वैशाख १६ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी आठ करोड ६२ लाख ५० हजार उद्यान निर्माणका लागि नेशनल/ पवन जेभीसँग गत असार १७ गते ठेक्का सम्झौता भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

लामो समयदेखि अस्तव्यस्त बनेको सो उद्यानलाई नयाँ र आधुनिक शैलीमा पुनःनिर्माण गरी संरक्षण र पर्यटन प्रवर्द्धन गर्न थालिएको उपमहानगर प्रमखु गोपाल हमालले बताए। उपमहानगरले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको उनले जानकारी दिए।

उपमहानगर प्रमखु हमालका अनुसार पार्क क्षेत्रमा खेलौना, वाटर फाउन्टेन, रेस्टुरेन्ट, कार्यक्रम सञ्चालन गर्न हल, स्वीमिङ पुल, ज्येष्ठ नागरिकले आराम गर्ने स्थान, युवाका लागि सांस्कृतिक क्षेत्र, किशोरकिशोरीका प्रतिभा देखाउन कार्यक्रमस्थल र उद्यानको बाहिरी क्षेत्रमा व्यापारिक प्रयोजनका लागि सटर निर्माण हुनेछन् ।

सटरमा स्थानीय संस्कृतिका पोसाक तथा सामान बिक्री गर्न सकिने भन्दै उपमहानगरले पार्क निर्माण गर्न ३५ करोड लागतको योजना बनाएको उनले जानकारी दिए ।

पहिलो चरणमा आठ करोड ६२ लाखका संरचना निर्माण गरिने सहरी विकास तथा भवन निर्माण आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी सौरभ कलौनीले बताए । उनले वीरेन्द्र–ऐश्वर्य उद्यानसँगै धनगढीमा एक हजार दुई सय ५० मिटर सडकसमेत निर्माण गर्न उक्त कम्पनीसँग सम्झौता भएको जानकारी दिए।

उद्यान सञ्चालनमा आएसँगै स्थानीय पाँच सयबढी युवा व्यवसायमार्फत स्वरोजगार बन्न सक्ने उपमहानगर प्रमखु हमालले जानकारी दिए । तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सालिकसहित उद्यानको स्थापना गरिएको थियो । विसं २०६२/६३ को जनआन्दोलनपछि उक्त उद्यान जीर्ण बन्दै गएको थियो ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु