गृहपृष्ठ शैक्षिक गुणस्तर सुधारका लागि पाँँच लाख ५५ हजारको अक्षय कोष स्थापना
शैक्षिक गुणस्तर सुधारका लागि पाँँच लाख ५५ हजारको अक्षय कोष स्थापना
शैक्षिक गुणस्तर सुधारमा सघाउ पुर्याउने उद्देश्यले पाँचथरको हिलिहाङ–२ को एक परिवारले स्थानीय विद्यालयमा पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरेको छ । हिलिहाङ–२ सिंहपुरमा रहेको सिंहपुर पशुपति माध्यमिक विद्यालयमा उक्त अक्षय कोष स्थापना गरिएको हो ।
विद्यालयको स्थापनादेखि सञ्चालनमा सहयोग गर्दै आएका स्थानीय वयोवृद्ध हरिप्रसाद गौतम र लीलादेवी गौतमको परिवारले आइतबार विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोषमा रहने रकम विद्यालयका प्रधानाध्यापक भीमकुमारी भण्डारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद हेम्ब्यालाई हस्तान्तरण गरे ।
हरिप्रसाद र लीलादेवी संस्थापक रहेको अक्षयकोषमा छोराबुहारीहरू जीवनप्रसाद र नारायणी गौतम, राजेन्द्रप्रसाद र पुण्यमाता गौतम, सूर्यप्रसाद र कौशिला गौतम, केशवप्रसाद र भीमकुमारी गौतम तथा भोला र गंगा गौतम एवं छोरीज्वाइ मैयादेवी र राधाकृष्ण भट्टराई संरक्षक रहनुभएको छ । गौतम परिवारले अक्षयकोष सञ्चालनका लागि कार्यविधि तयार पारी बैङ्क खातामार्फत उत्कृष्ट विद्यार्थी र शिक्षकलाई वर्षेनि प्रोत्साहन दिने योजना बनाएको संरक्षक सूर्यप्रसाद गौतमले वताए ।
अक्षयकोषको ब्याजबाट उक्त विद्यालयको कक्षा १, २, ३, ४, ५, ६, ७ र ९ मा प्रथम स्थान हाँसिल गर्ने विद्यार्थी तथा विद्यालय र अभिभावकले छनोट गरेका एक जना शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको गौतमले बताए। विद्यालयमा पूर्वाधारका धेरै संरचना निर्माण भइसकेकाले अव शैक्षिक गुणस्तर सुधारमा जोड दिनुपर्ने आवश्यकता देखेर आफूहरूले अक्षयकोष स्थापना गरेको भनाइ छ । गौतम परिवारले ८३ वर्षीय बावुआमा जिवित छँदै अक्षयकोष स्थापना गरी अक्षयकोष दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना बनाएका हुन् ।
“आफ्ना पूर्वजहरूका नाममा संरचना निर्माण गर्ने परम्परा रहेपनि त्यसको उपयोगिता कमजोर भएका कारण अक्षयकोष स्थापनाले समाजलाई हित हुने ठानेर अक्षयकोष स्थापना गरेका हौँ”, अक्षय कोषका संरक्षकमध्ये सूर्यप्रसाद स्रोत व्यक्ति हुँदै हाल याङवरक गाउँपालिकाको शिक्षा शाखामा कार्यरत हुनुहुन्छ भने केशवप्रसाद र भोला शिक्षण पेसामा आबद्ध छन् ।
सोही अवसरमा स्थानीय समाजसेवी व्यक्तित्व हेलनप्रकाश न्यौपानेको स्मृतिका उनका श्रीमती गीतादेवी न्यौपानेको परिवारले उक्त विद्यालयमा अर्को अक्षयकोष स्थापना गरेको छ । गत वर्ष दिवङ्गत भएका न्यौपानेको स्मृतिमा परिवारजनले एक लाख एक हजार एक सय ११ रकमको अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयमा विगतदेखि नै स–सानो रकमका अक्षयकोषहरू रहेको भएपनि गौतम र न्यौपाने परिवारले ठूलो धनराशि अक्षय कोषमा राखेर शैक्षिक गुणस्तर सुधार गर्न तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने प्रेरणा प्रदान गरेको प्रधानाध्यापक भीमकुमारी भण्डारीले बताएए । सो अवसरमा अक्षय कोष स्थापना गर्ने दुवै परिवारलाई विद्यालयले सम्मान गरेको थियो ।
अक्षयकोष स्थापना कार्यक्रममा साक्षीका रुपमा रहेका हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले अक्षय कोषका संस्थापकलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रको विकासमा स्थानीयवासी र सरोकारवाला जागरुक बन्नुपर्ने बताए । सरकार र विद्यालय एक्लैले शिक्षा क्षेत्रको रुपान्तरणमा सबै काम गर्न नसक्ने भन्दै अध्यक्ष अधिकारीले गुणस्तरीय शिक्षाको खोजीमा बसाइँ सर्ने क्रम रोक्न पनि समुदाय स्तरबाटै शैक्षिक गुणस्तर सुधारमा विद्यालयलाई मद्दत र निगरानी गर्नु आवश्यक रहेको बताए । करिब चार सय ५० जना विद्यार्थी अध्ययरत यस विद्यालयमा सीमान्तकृत माझी समुदायका बालबालिका अध्ययनरत रहेका छन् ।
प्रकाशित समय : २०:५५ बजे



















